इटहरी । सुनसरीको इटहरीमा शुक्रबार नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’द्वारा लिखित कविता संग्रह ‘बर्बरिकका कविताहरू’ पुस्तक लोकार्पण गरिएको छ।नाट्य लेखन, निर्देशन र कलामा पोख्त बर्बरिकले लेखेका अत्यन्त यथार्थपरक, जीवन्त र मर्मस्पर्शी कविताहरूको सङ्गालो उक्त कृति औपचारिक कार्यक्रमबीच प्रमुख अतिथि प्रख्यात कवि मनुमञ्जिल लगायत विभिन्न साहित्यकार तथा कविहरूले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
उक्त कविता संग्रहलाई हलेशी महादेव मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको हो। इटहरी साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा लोकार्पण गरिएको संग्रहमा बर्बरिकका ६३ वटा मर्मस्पर्शी कविताहरू समेटिएका छन्।‘शंखयात्रा’, ‘सन्नाटाका आवाज’, ‘चित्कार’, ‘सपना’, ‘रातसँग’, ‘यादका चाङ’ जस्ता कविताहरू संग्रहमा समावेश छन्।
लोकार्पण समारोहमा छोटो मन्तव्य राख्दै प्रमुख अतिथि कवि मनुमञ्जिलले लेखक बर्बरिकको खुलेर प्रशंसा गरेका थिए भने विमोचित संग्रहका केही कविताहरू वाचन गर्दै शुभकामना व्यक्त गरेका थिए।त्यस्तै कार्यक्रमकी विशिष्ट अतिथि माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले कला र साहित्य क्षेत्रमा लामो समयदेखि आबद्ध भई निरन्तर कलम चलाउँदै आएको कारण कविको मर्म बुझेर उहाँको सम्मान स्वरूप उक्त संग्रह प्रकाशनमा ल्याइएको उल्लेख गरिन्।
नाट्यकर्मी तथा साहित्यकार एवम् कवि भरत बर्बरिकले पहिलो चरणमा प्रकाशित कविता संग्रहको पुस्तक बिक्रीबाट संकलित सम्पूर्ण रकम माया घरलाई उपलब्ध गराउने घोषणा गरे। आफ्ना जन्मदिने आमाबुबा कोही नभएको कारण प्रत्येक जन्मदिन माया घर पुगेर मनाउँदै गर्दा त्यहाँ आश्रितहरूको पीडा प्रत्यक्ष देखेकाले सकेको सहयोग गर्ने भावनास्वरूप पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम माया घरलाई नै दिने बताए। हाल माया घरमा १४६ जना अशक्त ज्येस्ठ नागरिक तथा असहाय एवम सडक मानवहरू अाश्रीत छन ।
कार्यक्रममा साहित्यकार तथा समालोचक टिका आत्रेयले बर्बरिकद्वारा लिखित कविता संग्रहको छोटो समीक्षा प्रस्तुत गरेकी थिइन्।कार्यक्रमका विशिष्ट अतिथिहरू धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, प्राध्यापक डा. भीम खतिवडा, कवि मोहन कुमार तुम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा प्रकाशन समूह हलेशी महादेव मिडिया प्रा.लि.ले नाट्यकर्मी तथा साहित्यकार एवम् कवि बर्बरिकलाई ढाका टोपी, दोसल्ला तथा कदरपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रम इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतमको सभाध्यक्षतामा सम्पन्न भएको थियो।





























Discussion about this post