धनुषा । धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किसोरी साहको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन। न्यायाधीश शारङ्गा सुवेदीले नहेर्ने भएपछि शुक्रबार पनि टुंगो नलागेको हो। बिहीबार साहकै अर्को मुद्दामा आदेश गरेकी न्यायाधीश सुवेदीबाहेकको इजलासबाट मात्रै साहको उम्मेदवारीबारे टुंगो लाग्ने भएको छ। शुक्रबार न्यायाधीश सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पहिलो नम्बरमै पेशी तोकिएको थियो।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका साहको उम्मेदवारी निर्वाचन आयोगले फागुन १९ गते खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेजविरुद्ध साह सर्वोच्च पुगेका हुन्। उनले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अर्को रिट पनि दायर गरेका थिए। कर्जा सूचना केन्द्रले नै साहलाई कालोसूचीबाट हटाइएको पत्र पठाएपछि बिहीबार उनको नाम कालोसूचीबाट हटाउन न्यायाधीश सुवेदीको इजलासले आदेश दिएको थियो।
अब उनको उम्मेदवारी खारेजबारे फैसला हुन बाँकी छ। आयोगले साहको उम्मेदवारी खारेज गरे पनि उनले पाएको मत भने गणना गरेर राखिएको छ। उम्मेदवारी खारेजपछि पनि उनले सबैभन्दा बढी मत पाएका छन्। निर्वाचन आयोगले पछि सर्वोच्च अदालतको आदेश अनुसार हुने भन्दै यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र दिइसकेको छ। निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजको निर्णय अब सर्वोच्चले बदर गरे साह सांसद हुनेछन् भने यादवको प्रमाणपत्र खोसिनेछ। आयोगको निर्णय सदर भए यादव नै सांसद हुनेछन्।



























Discussion about this post