इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका केही मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्।सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिक मतपत्रको ढ्वाङ खोल्दा भेटिएको स्वीकार गरेका छन्। उनका अनुसार प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका ढ्वाङ खोल्दा भेटिएको हो ।
ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।
मतपरिणाम घोषणा हुनुअघि नै मुचुल्का र गणनामा भेटिएको मतमा १८८ को फरक परेको भन्दै कांग्रेस उम्मेदवार लुइँटेलले प्रश्न उठाएका थिए । उनले मतपत्र हराएको र त्यसको खोजी गर्दै पुनः मतगणनाको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
उनले प्रत्यक्षतर्फको मतपरिणामसम्बन्धी निर्णयमा हस्ताक्षेर गरेका छैनन् । उनका प्रतिनिधिले पनि हस्ताक्षर गरेका छैनन् । उनले यस विषयमा कानुनी प्रश्न उठाउने बताएका छन्। उनले जनताले दिएको मत बदर गर्न नमिल्ने तर्क गर्दै मतपत्रको खोजी नगरी परिणाम घोषणा गरिनु गैरकानुनी भएको दाबी गरेका छन्।

























Discussion about this post