इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। मंगलबार मनोनयन दर्ता गराएका थापाविरुद्ध बुधबार उजुरी परेको हो।
इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले उजुरी दर्ता गराएका छन्। उजुरीमा थापाले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको र उक्त रकम लेखापरीक्षणबाट समेत बक्यौता ठहर भइसकेको उल्लेख छ। थापा यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए।
निर्वाचन आयोगका अनुसार उजुरीमाथि आवश्यक जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउनेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।



























Discussion about this post