इटहरी । नेपाली मौलिकता बोकेको माघे सङ्क्रान्ति भन्ने बित्तिकै मानसपटलमा तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको स्वाद झल्किन्छ ।‘पुसको अन्तिम रात पकाउने र माघको पहिलो बिहान खाने’ सांस्कृतिक परम्परा अनुसार यतिबेला प्रत्येक घरका भान्सामा यी कन्दमूल उसिनिन्छन् ।
घिउ-चाकु, तिलको लड्डु र सेलरोटीको स्वादसँगै सपरिवार बसेर खाइने यी परिकारले यो चाडलाई थप उल्लासमय बनाउँछन् । विशेषगरी मगर र थारु समुदायले यसलाई आफ्नो सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा धुमधामसँग मनाउने गरेका छन् ।
माघे सङ्क्रान्तिकै लागि मुलुकको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा कन्दमूलको व्यापारले नयाँ उचाइ लिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस वर्ष कन्दमूल आपूर्तिमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।
समिति तथ्यांक अनुसार यस वर्ष पुसमा मात्रै कालीमाटी बजारमा २२ लाख ६ हजार ७ सय १४ किलो (करिब २ हजार २ सय ६ टन) कन्दमूल भित्रिएको छ ।
यो परिमाण गएको वर्ष २०८१ को तुलनामा निकै उत्साहजनक हो । गत वर्ष सोही अवधिमा १५ लाख ७० हजार ५५ किलो कन्दमूल भित्रिएको थियो ।
यस वर्ष सबैभन्दा बढी तरुलको हिस्सा रहेको छ, जसको आपूर्ति १३ लाख ६१ हजार ७ सय ६९ किलो पुगेको छ । यस्तै सखरखण्ड ५ लाख ९८ हजार १ सय ४७ किलो र पिँडालु २ लाख ४६ हजार ७ सय ९८ किलो बजार आएको छ ।
वनतरुल सबैभन्दा महँगो
बजारमा पाइने कन्दमूलको विविधता र मूल्यले पनि यतिबेला उपभोक्ताको ध्यान खिचेको छ । आपूर्ति बढे पनि ‘वनतरुल’ को माग र मूल्य दुवै उच्च देखिएका छन् । समितिको ३० पुसको मूल्य विवरण अनुसार वन तरुलको थोक मूल्य प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै औषधीय गुण मानिने स्कुसको जरा प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँमा किनबेच भइरहेको छ भने पाताले तरुलको मूल्य ९० देखि १ सय २० रुपैयाँको बीचमा छ । अन्य प्रजातिमा आकाशे तरुल ८० देखि १ सय रुपैयाँ, हात्ती पाइला ७० देखि ८० रुपैयाँ र सिमल तरुल ६० देखि ७० रुपैयाँसम्ममा उपलब्ध छन् ।
सामान्य घर तरुल र सखरखण्ड भने उपभोक्ताका लागि केही सुलभ बनेका छन्, जसको मूल्य प्रतिकिलो ४० देखि ७० रुपैयाँ हाराहारी छ । यो मूल्य होलसेल भए पनि खुद्रामा भने उपभोक्ताले अलि बढी महँगो तिर्नुपर्ने हुन्छ ।
काठमाडौं बुद्धनगरस्थित तरकारी व्यवसायी राज तामाङले स्वदेशी तरुलकै माग बढी रहेको बताए । ‘नेपाली तरुलको स्वाद मिठो हुने हुँदा महँगो पर्न गए पनि माग उच्च छ,’ उनले भने, ‘उपभोक्ताको रोजाइमा वनतरुल र सिमल तरुल रहेको छ, सखरखण्ड र तरुल पनि राम्रै बिक्री भइरहेको छ ।’उनले प्रजाति अनुसार प्रतिकिलो १ सय २० देखि ४ सय रुपैयाँसम्म बेचिरहेको बताए ।
तरुलमा नेपाल आत्मनिर्भरतर्फ
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरुलमा नेपाल झन्डै आत्मनिर्भर रहेको बताउँछन् ।‘बजारमा भित्रिएको कुल तरुलमध्ये करिब ९२ प्रतिशत स्वदेशी उत्पादन नै हो,’ उनले भने, ‘बाँकी ८ प्रतिशत मात्रै भारतीय बजारबाट आएको देखिन्छ ।’तरुल र पिँडालुमा नेपाल निकै बलियो देखिए पनि सखरखण्डको हकमा भने भारतीय आयातको हिस्सा केही बढी रहेको उनको भनाइ छ ।
आन्तरिक उत्पादनको कुरा गर्दा सर्लाही जिल्लाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सर्लाहीबाट मात्रै ६ लाख ७७ हजार ३ सय ३१ किलो कन्दमूल काठमाडौं आएको छ, जुन कुल आपूर्तिको ठूलो हिस्सा हो । कुल तरुलको मात्रै हिसाब गर्दा पनि करिब ५० प्रतिशत आपूर्ति सर्लाहीबाट भएको छ ।
सर्लाहीसँगै धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुली, काभ्रे, सुनसरी, मोरङ र दोलखाजस्ता जिल्लाबाट पनि उल्लेख्य परिमाणमा तरुल भित्रिएको छ । आन्तरिक उत्पादनले माग धान्न नसकेको केही हिस्सा भने भारतबाट आयात गरिएको छ, जहाँबाट मुख्यत: सखरखण्ड र केही परिमाणमा तरुल गरी ४ लाख ७४ हजार ७ सय किलो आएको छ ।



























Discussion about this post