काठमाडाै । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित एसबीआई बैंक लुटपाट घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति साढे ७ बजेतिर बैंक लुटपाट भएको थियो ।प्रहरीका अनुसार पाँचजनाको समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी लुटपाट गरेको हो । सुरक्षा गार्डसहित बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये दुई जना नुवाकोट, एक जना चितवन र एक जना मकवानपुरका छन् । बैंक लुट्न प्रयोग गरिएको ०३९८ नम्बरको टाटा सुमो जीप र त्यसका चालक भगत सिंह थापालाई पनि नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बैंकबाट तीन करोड १० लाख रुपैयाँ लुटिएको छ । लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बैंक नजिकैको जंगलमा बोराभित्र फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले काभ्रेबाट टाटा सुमो जीप बेहुली लिन जाने भन्दै भाडामा लिएको खुलेको छ । तर सिन्धुली पुगेपछि सो गाडी लुटपाटका लागि प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरू सबै मजदुर भएको खुलेको छ । उनीहरू घरमा रंग लगाउने समूह रहेको प्रहरीको भनाइ छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘उनीहरु घरमा रंग लगाउने काम गर्ने मजदुर भएको खुलेको छ । सबै सिन्धुली बाहिरका छन् । उनीहरुले घ्याङलेखको बैंक लुट्ने योजना कसरी बनाए भन्नेबारे सोधपुछ गरिरहेका छौँ । अन्यको पनि संलग्नता हुनसक्ने आशंका छ ।’ प्रहरीका अनुसार गाडी बेहुली लिन जाने भन्दै बुक गरिएको थियो । यद्यपि, गाडी चालकको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ ।



























Discussion about this post