सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलासा भएको छ ।घटनापछि फरार रहेका धनुषा क्षिरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई एक महिनापछि मंगलबार सिराहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चौधरी र अविनाबीच पहिलेदेखि नै प्रेम सम्बन्ध थियो । चौधरी विवाहित हुन् । उनका एक सन्तान छन्। पछिल्लो समय श्रीमतीसँग खटपट भएपछि उनी अलग्गै बस्दै आएका थिए ।गत मंसिर २२ गते कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहर नजिक झाडीमा अविनाको शव फेला परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए।
प्रहरीका अनुसार मंसिर २१ गते राति धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरेका थिए। सोही राति उनले अविनालाई पटक–पटक फोन गरेका थिए। साढे ८ बजे दुवैबीच फोनमा कुरा भएको थियो। त्यसपछि चौधरीले भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
राति सवा ९ बजे अविना चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि उनीहरू कमला नदीको किनार हुँदै घर फर्कने क्रममा घटनास्थल नजिक पुगेका थिए। सोही स्थानमा सहमतिमै शारीरिक सम्पर्क भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
अविनाले चौधरीसँग विवाहको प्रस्ताव राख्दै आएकी थिइन्। तर अविनाले अन्य पुरुषसँग फोनमा अडियो–भिडियो कल गर्ने गरेको कुरा चौधरीलाई मन परेको थिएन। यस विषयमा पहिले पनि दुवैबीच विवाद हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
अन्य पुरुषसँग सम्बन्ध राखेको आशंकामा आवेशमा आएर चौधरीले अविनाको घाँटी थिचेर ढुङ्गाले दाहिने गालामा प्रहार गरेको अनुसन्धानमा खुलेको छ। अविना बेहोस भएपछि नजिकैको झाडीमा लगेर अनुहार किचेपछि घटनास्थलबाट भागेको डीएसपी पालले बताए। चौधरीलाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ।



























Discussion about this post