जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् ।प्रदेशसभामा सहभागी दलहरूको अवरोध र तनावबीच सुरक्षाकर्मी तैनाथ गरेर लोसपाका प्रदेश सांसद सोनललाई बुधबार अबेर मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।कांग्रेस र एमालेले प्रदेश प्रमुखविरुद्ध नाराबाजी गरिरहँदा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरिन् ।
सोनललाई जनमतका १३ सहित ५६ सांसदको समर्थनमा नियुक्त गरिएको छ । तर, तर जनमत पार्टीका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका छन् । जनमत पार्टीबाट प्रदेशसभा सदस्य बनेका सतीशकुमार सिंह (तत्कालीन कामचलाउ मुख्यमन्त्री) र त्रिभुवन साह (पूर्वमन्त्री) ले दीपक साह नेतृत्वको जनस्वराज रोजेका छन् ।
सोही कारण सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ । उनको नियुक्तिमा एमाले र कांग्रेसले आपत्ति जनाएका छन् ।एमाले संसदीय दल नेता सरोज यादव र कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवसहितका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर जनमत पार्टी विभाजन भइसकेकाले सोनलको दाबीलाई मान्यता नदिन अनुरोध गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।पाँच दलको प्रस्तावमा सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । उनलाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८) र एकीकृत समाजवादी (७) ले समर्थन गरेको बताइएको छ ।नवनियुक्त मुख्यमन्त्री सोनलले बिहीबारबाट जिम्मेवारी सम्हाल्नेछन् ।



























Discussion about this post