इटहरी । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।
भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने मियाँ भाग्न खोजेका थिए ।
भागेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।हवाइ फायर गरेपछि पक्राउ परेका मियाँको साथबाट प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर बरामद भएको थियो ।प्लास्टिकसहित ब्राउनसुगरको करिब तौल ५१३ ग्राम थियो ।प्लास्टिक बाहेक ४४७ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा मियाँ लागुऔषध कारोबारी रहेको खुलेको प्रहरीले जनाएको छ ।






















Discussion about this post