एजेन्सी । अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले देशका सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। पेन्टागन (रक्षा विभाग) का मुख्य प्रवक्ता सन पार्नेलले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा ‘जर्ज अमेरिकी सेनाको ४१औँ चिफ अफ स्टाफ पदबाट तुरुन्तै अवकाश लिँदै छन्’ लेखिएको छ।
यद्यपि उनलाई किन पद त्याग्न भनियो भन्ने कुरा अझै स्पष्ट भएको छैन।नाम नछाप्ने सर्तमा रक्षा विभागका एक वरिष्ठ अधिकारीले सीबीएससँग भनेका छन्, ‘हामी उनको सेवाका लागि आभारी छौँ, तर सेनामा नेतृत्व परिवर्तन गर्ने समय आएको छ।’पेन्टागनका प्रवक्ता पार्नेलले भनेका छन्, ‘युद्ध विभाग जनरल जर्जको दशकौँको सेवाका लागि कृतज्ञ छ। हामी उनको अवकाशपछिको जीवनका लागि शुभकामना दिन्छौँ।’
अमेरिकी सञ्चारमाध्यमका अनुसार अब सेनाका उपप्रमुख जनरल क्रिस्टोफर लानेभले कार्यवाहक सेना प्रमुखका रूपमा काम गर्नेछन्।पार्नेलले भनेका छन्, ‘उनी दशकौँको अपरेसन अनुभव भएका युद्ध-परीक्षित नेता हुन्।’पार्नेलले रक्षामन्त्री हेगसेथले यसलाई कार्यान्वयन गर्ने विश्वास पनि व्यक्त गरेका छन्। अमेरिकामा सेना प्रमुखको कार्यकाल सामान्यतया चार वर्षको हुन्छ।
र्यान्डी जर्जले वेस्ट पोइन्ट मिलिटरी एकेडेमीमा पढेका थिए।उनलाई तत्कालीन राष्ट्रपति जो बाइडेनले २०२३ मा यो पदमा छनोट गरेका थिए।अमेरिकामा हेगसेथ रक्षामन्त्री बनेयता नौसेना अपरेसन प्रमुख र वायुसेनाका उपप्रमुख स्टाफसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारी हटाइएका छन्।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।
जसमा परी मारिएकाको संख्या ५ हजार नाघिसकेको रिपोर्ट सार्वजनिक भएको छ।रोयटर्सका अनुसार यो जानकारी विभिन्न एजेन्सीको पछिल्लो तथ्यांकमा आधारित छ।सबैभन्दा बढी मानिस इरानमा मारिएका छन्।

























Discussion about this post