एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुई वा तीन हप्ताभित्र’ आफ्नो देश इरानविरुद्धको युद्धबाट बाहिरिने संकेत दिएका छन्।बीबीसीका अनुसार उनले भनेका छन्, ‘मेरो एउटै लक्ष्य थियो: इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस्, त्यो लक्ष्य प्राप्त भइसकेको छ।’
उनले अगाडि भनेका छन्, ‘हामी इरानमा हाम्रो कामलाई अन्तिम रूप दिइरहेका छौँ। सायद दुई हप्ताभित्र वा काम पूरा हुन केही दिन बढी लाग्न सक्छ, त्यसपछि अमेरिका इरानबाट बाहिरिनेछ।’साथै ट्रम्पले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसभन्दा पहिले सम्झौता पनि हुन सक्ने बताए।
एक पत्रकारले उनलाई अमेरिकामा बढ्दो ग्यासको मूल्य र त्यसलाई घटाउने उनको योजनाबारे सोध्दा उनले भने, ‘यसका लागि हामी इरानबाट बाहिर निस्कनु हो र हामी त्यो चाँडै गर्नेछौँ। हामी त्यहाँबाट चाँडै बाहिर निस्कनेछौँ।’
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्यपूर्व द्वन्द्वमय बनेको छ। जसमा परी अहिलेसम्म मारिएकाको संख्या ४ हजार ५०० नाघिसकेको छ। मारिएका मानिसमा सबैभन्दा बढी इरानका छन्।
कहाँ कति जना मारिए?
इरान : अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरानका अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म इरानमा ३ हजार ४ सय ९२ जना मारिइसकेका छन्। जसमा १ हजार ५ सय ७४ जना सर्वसाधारण नागरिक छन् भने कम्तीमा २ सय ३६ जना बालबालिका छन्।
इजरायल : इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इजरायलमा मिसाइल आक्रमणमा परी अहिलेसम्म १९ जना मारिएका छन्। साथै लेबननमा नौ जना इजरायली सैनिक मारिएको इजरायली सेनाले जनाएको छ।
लेबनन : लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अहिलेसम्म लेबननमा १ हजार २ सय ४७ जना मारिएका छन्, जसमा १२४ जना बालबालिका छन्।
खाडी क्षेत्र : खाडी देशहरूमा हालसम्म कम्तीमा २४ जना मारिएका छन्, जसमध्ये धेरैजसो सुरक्षा बलका सदस्य वा विदेशी कामदार छन्। यीमध्ये ११ जना संयुक्त अरब इमिरेट्स (यूएई) मा र ७ जना कुवेतमा मारिएका हुन्। अनि ओमान, साउदी अरेबिया र बहराइनमा दुई-दुई जना मारिएको पुष्टि भएको छ।

























Discussion about this post