एजेन्सी । इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।
बिहीबार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको महान् दिन’ भनेका छन् । उनले हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन्।
इजरायल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए।ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सीबीएस न्यूजलाई बताएअनुसार इजरायली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ।
यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले जानकारी दिए।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएका छन्।
साथै गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए।
गाजा युद्ध सुरु भएकै दिनदेखि इजरायलबाट सम्पर्कविहीन रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने सम्भावना बढेको छ । उनी हमासको नियन्त्रणमा रहेको विश्वास गरिएको छ ।सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो।
मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए।उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
























Discussion about this post