•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:15:06 AM

स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरः बन्यो नगर अध्यक्षदेखि प्रदेशसभा सदस्यसम्मको परीक्षा केन्द्र

- चैत्र २४, २०७८ मा प्रकाशित


गंगा पोद्दार

इटहरीः संघीय सरकारले देशभरका स्थानीय तहहरुको निर्वाचनका लागि वैशाख ३० गतेको मिति निर्धारण गरिसकेको पृष्ठभूमिका बीच सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि चुनावी माहौल तात्न थालेको छ । राजनीतिक दलहरु आ आफ्नो पार्टीलाई जिताइदिन भन्दै टोलटोलमा सभा आयोजना गरी आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न कस्सिएका छन् । आफ्नो प्रचारसँगै आफ्ना विपक्षी पार्टीको भण्डाफोर अभियानलाई पनि दलहरुले उत्तिकै महत्व दिएको पाइन्छ इटहरीमा । सबै दलहरु आआफ्नो बहुमत सिद्ध गरी सरकार बनाएर ५ वर्षसम्म स्थानीय सत्ता हाँक्ने सपनामा मग्न रहँदा स्थानीय चिया पसलहरुमा पनि चुनावकै चर्चाले प्राथमिकता पाउन थालेको छ । स्थानीय राजनीतिमा चाख राख्नेहरु यस पटकको चुनावमा कस्को पल्ला भारी हुने हो भन्ने अड्कलबाजी गर्दै चियाको तलतल मेटाउन चियाका लागि प्रख्यात होटल, पसल तथा क्याफेहरुमा अड्डा जमाइरहेका छन् । इटहरीमा मुलतः हाल स्थानीय सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी चुनावी मैदानमा उत्रने आँकलन छ ।

एक्लै सबै पार्टीसँग भिड्ने मुडमा रहेको नेकपा एमालेबाट वर्तमान मेयर द्वारिकलाल चौधरीका साथै हालकी उपमेयर लक्ष्मी गौतम, रामप्रसाद चौलागाईँ, पार्टीका इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा र सुनसरी जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीका अतिरिक्त प्रदेशसभा सदस्यद्वय लिलम बस्नेत र सर्वध्वज सावाँसमेत भावी मेयरको सम्भावित आकाङ्क्क्षीका रुपमा चर्चामा रहेको पार्टीनिकट स्रोत बताउँछ ।

यसैगरी, नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा पराजित भएका रोहित प्रसाईँ, पार्टीका नगर सभापति हेमकर्ण पौडेल, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल तथा विकास केसीमध्ये कुनै एक जना भावी मेयरका आकांक्षीका रुपमा मैदानमा उत्रने पार्टीनिकट स्रोतको आँकलन छ । संघीय सरकारमा गठबन्धन गरेर बसेको भएपनि स्थानीय तह निर्वाचनमा भने इटहरीका २० वटै वडामा एक्लै प्रतिस्पर्धामा उत्रने पार्टीको तयारी रहेको स्रोतको भनाइ छ । पार्टीका बहुसंख्यक कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको बताउँदै स्रोतले सोही व्यहोरा संघीय नेतृत्वलाई जानकारी दिने तयारी रहेको बताएको छ । तर, संघीय नेतृत्वलाई आवश्यक लागेमा भने इटहरीमा पनि गठबन्धन हुन सक्ने सम्भावनालाई स्रोतले नकार्न सकेन ।

यसैगरी, नेकपा माओवादी केन्द्रबाट वर्तमान इटहरी नगर अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) तथा पार्टीको १ नम्बर प्रदेश उपाध्यक्ष शिव डाँगीमध्ये कुनै एक जनाको उमेद्वारी पर्न सक्ने चर्चा छ ।

यसैगरी, नेकपा एमालेबाट माधवकुमार नेपाल र झलनाथ खनाल अलग भई गठन भएको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि मेयर पदमा आफ्नो दाबेदारी दिने देखिएको छ । सो पार्टीबाट राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिवसमेत रहेका केशव बिष्ट र केवल फुयाँलमध्ये कुनै एक जनाको उमेद्वारी पर्ने चर्चा रहेको पार्टीनिकट स्रोत बताउँछ ।

नेकपा एमालेबाट भावी मेयरका सम्भावित आकांक्षीहरुमध्ये वर्तमान मेयर द्वारिकलाल चौधरीले विजय प्राप्त गर्ने सम्भावना झिनो छ । केही समयअघि सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा उनले प्राप्त गरेको ८० मतको लज्जास्पद पराजयले पनि उनको विजयको सम्भावना कम रहेको तथ्यलाई इङ्गित गर्ने पार्टीनिकट स्रोत बताउँछ । आफ्नै पार्टीबाट अलग भई नयाँ पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई घरमै बोलाएर दिवाभोज दिएपछि एमाले नेतृत्व उनीप्रति सशङ्कित बनेको अवस्थामा उनले टिकट पाउने सम्भावना नै कम हुनसक्ने स्रोतको विश्लेषण छ । बरु राजनीतिक छबि बचाउनका लागि उमेद्वारी दिनैपरे नेकपा एकीकृत समाजवादीकै झन्डा समातेर चौधरी मैदानमा उत्रिने हुन् कि भन्ने अड्कलबाजी पनि भइरहेको छ । मेयरमा निर्वाचित भइसकेपछि उनले प्रदर्शन गरेका पत्रकारमाथि दुव्र्यवहार, महिलामाथि दुव्र्यवहार, कर्मचारीमाथि कुटपिटजस्ता विवादास्पद हर्कतहरुका कारण जनस्तरमा आलोचित र अस्वस्थ छबि बनाएका चौधरीलाई आफूसँग भएका केही थारु बाहुल्य क्षेत्रका पकेट मतले मात्र चुनाव जिताउन पर्याप्त नहुने आँकलन गरिएको छ ।

यसैगरी, वर्तमान उपमेयर तथा सोही पार्टीबाट भावी मेयरकी आकांक्षी लक्ष्मी गौतमका लागि पनि यस पटकको स्थानीय चुनाव फलामको चिउरा साबित हुनसक्छ । पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएपछि मेयरको कुर्सीमा बस्ने महात्वाकांक्षाका साथ चुनावी दौडमा होमिने मनस्थितिमा रहेकी गौतमको स्थानीय पार्टी पङ्क्तिमा भने प्रभाव कमजोर रहेको स्रोत बताउँछ । यता, मेयर चौधरीसँग गौतमको सम्बन्ध पूरा कार्यकालभर मूलतः टकरावपूर्ण रहेको देखिन्छ । पछिल्लो पटक केही दिनअघि चुनावी माहौल आफूअनुकूल बनाउन नदिने नियतका साथ मेयर चौधरीले गौतमले प्रयोग गर्ने गरेको सरकारी सवारीसमेत बिनाकारण कुनै नियम वा कानूनमा नटेकी फिर्ता लिएको घटनाबाट पनि उनीहरुबीच सम्बन्ध तिक्ततापूर्ण रहेको विश्वास गर्न सकिन्छ । यस्तो तिक्तताले मेयर चौधरी र उपमेयर गौतम दुवैका समर्थकहरु परस्परमा प्रतिद्वन्द्वी बन्न गई परिणाम कसैका हातमा केही नलाग्ने सम्मको निस्कन सक्ने आँकलन गरिएको छ । धेरैजसो शिलान्यास तथा उद्घाटन कार्यक्रमहरुमा मेयर स्वयं उपस्थित हुने र गौतम यदाकदा मात्र जाने गरेको पाइन्छ । गौतमले निष्ठाको राजनीति गरेको भएपनि अन्ततः समाज निष्ठाप्रति आस्थावान नहुँदा पनि गौतमलाई मतदाता आकर्षित गर्न कठिन हुने देखिन्छ । निर्वाचन जित्न कतिपय अबस्थामा त्याग मात्र नभई भाषण र जनतालाइ आफूमा आकर्षण गर्ने क्षमता पनि हुनुपर्छ । तर ५ वर्षे कार्यकालमा गौतमले जनताको मन जित्नेगरी उल्लेख्य काम गर्न सकेको देखिँदैन ।

अर्का सम्भावित प्रत्यासीका रुपमा रहेका प्रदेशसभा सदस्य सर्वध्वज साँवा पहिले नै प्रदेशसभामा रहेको र प्रदेशसभाको कार्यकाल तत्कालै समाप्त हुने अवस्था नरहेकाले उनको उमेद्वारी निश्चित देखिँदैन । प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिएर मेयरका लागि प्रतिस्पर्धामा उत्रनु उनका लागि घाटाको व्यापार सावित हुने हुँदा सावाँ पुनर्विचार गर्ने मनस्थितिमा पुग्नसक्ने स्रोतको आँकलन छ । तर पार्टीले उनलाई मेयरमा उठ्नैपर्नेगरी बाध्य पार्छ भने चाहिँ उनी एक अब्बल दाबेदारका रुपमा उत्रन सक्छन् । प्रदेशसभा निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी हेमकर्ण पौडेललाई साढे पाँच हजार मतले पराजित गरेका सावाँले इटहरीका प्रथम मेयरका रुपमा यसअघि नै कामसमेत गरिसकेकाले उनलाई हराउन जस्तोसुकै उमेद्वारलाई कठिन हुने देखिन्छ ।

यसैगरी, अर्का सम्भावित आकांक्षी रेवतीरमण भण्डारी पनि सशक्त उमेद्वारका रुपमा खडा हुन सक्छन् । दोस्रो संविधानसभामा सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद्का रुपमा संविधान निर्माणमा भूमिका खेलेका भण्डारी हालै सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित भई कार्यरत रहेका छन् । स्थानीय मतदाताहरुमा राम्रो पकड भएका भण्डारी पनि भावी मेयरका रुपमा निर्वाचित हुन सक्ने प्रवल सभावना रहेको स्रोतको कथन छ । प्रदेशसभा सदस्य सर्वध्वज सावाँको उमेद्वारी नपरे भण्डारी नै निर्वाचित हुनसक्ने बलियो सम्भावना रहन्छ । सर्वसाधारणलाई भावनात्मक रुपमा आफ्नो पकडमा ल्याउने खुबी भएका भण्डारीले यस पटकको चुनावमा पनि मतदाताको सहानूभूति बटुल्ने रणनीतिका साथ प्रस्तुति दिने बुझिएको छ ।

यसैगरी, पार्टीका इटहरी नगर अध्यक्ष यामकुमार सुब्बा पनि मेयरको भावी उमेद्वार बन्न सक्ने सम्भावना रहेको पार्टीनिकट स्रोत बताउँछ । तर, उनको पार्टीभित्रै प्रदर्शन कमजोर रहेकाले उनको सम्भावना भने क्षिण रहेको स्रोतको भनाइ छ । पार्टी कमिटिलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने सवालमा उनको भूमिका बलियो हुन नसक्दा पार्टीले उनलाई मेयरको उमेद्वारका रुपमा विश्वास गर्ने आधार कमजोर रहेको स्रोतको जिकीर छ ।

यसैगरी, एमालेकै अर्का सम्भावित आकांक्षी रामप्रसाद चौलागाईँले टिकट पाएमा उनको पनि सम्भावना केही न केही राम्रै हुने पार्टीसम्बद्ध स्रोतको आँकलन छ । इटहरी खानेपानी सँस्थानको अध्यक्षका रुपमा नगरको खानेपानी क्षेत्रमा आफूले गरेका कामहरुलाई क्यास गरेर उनले आफ्नो पकड बनाउन प्रयास गर्नेछन् । अघिल्लो स्थानीय तहको चुनावमा पनि मेयरकै पदमा लड्ने सम्भावना हुँदाहुँदै पार्टीको आन्तरिक प्रतिस्पर्धामा पछाडि उनको नाम आउन सकेको थिएन । यस पटक भने आफूले मेयरको टिकट नपाए कडा प्रतिकृया जनाउने मुडमा चौलागाईँ रहेका छन् । यद्धपि, उनले टिकट नपाउने सम्भावना पनि उत्तिकै छ । स्रोत भन्छ, ‘रामप्रसाद चौलागाईँले आफूले टिकट नपाए चुप लागेर बस्दैनन् । उनी केही न केही एक्सनमा उत्रिन्छन् । तर उनको आगामी कदम भने अझै रहस्यमय नै छ ।’

यसैगरी, अर्का मेयर पदमै एमालेका प्रदेशसभा सदस्य निलम बस्नेतले पनि उमेद्वारी दिने इच्छा देखाएको बुझिएको छ । यद्धपि, उनी पहिले नै प्रदेशसभा सदस्य रहेको र प्रदेशसभाको कार्यकाल बाँकी छँदै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा प्रतिस्पर्धा गर्नु बस्नेतका लागि पनि हितकर नहुने पार्टी स्रोतको विश्लेषण छ । उद्योग वाणिज्य संघ इटहरीका पूर्वअध्यक्षसमेत रहेका एमाले प्रदेश कमिटि सदस्य बस्नेत उद्योग वाणिज्य संघकै बलमा प्रदेशसभामा पुगेको बताउँदै स्रोतले पार्टीले जनआधार र मतदातामा पकड भएका उमेद्वारलाई मात्र मौका दिने हुँदा उनले अवसर पाउने सम्भावना कम भएको बताएको छ । पार्टीमा अन्य थुप्रै नेताहरुको व्यवस्थापन गर्न बाँकी रहेको हुँदा प्रदेशसभा सदस्य भइसकेका व्यक्तिलाई मेयरमा उठाए कार्यकर्ताको भावनामा चोट पुग्ने भएकाले पनि पार्टीले उनलाई प्रदेशसभामै निरन्तरता दिने स्रोतको आँकलन छ ।

Comments

सम्बन्धित खवर