•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  7:57:30 AM

बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा

- माघ २५, २०७८ मा प्रकाशित


काठमाडौं: नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२०औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको हो । 

कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको बताए । उनले भने, ‘नेपाली वाङ्मयका प्रायः सबै विधामा समको उत्तिकै विशिष्ट योगदान रहेको छ तर विशेष गरी नाटकका क्षेत्रमा समको योगदान अतुलनीय छ ।’

सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’का बारेमा  चर्चा सम पारिवारिक परिवेशकै कारण वाङ्मय क्षेत्रप्रति आकर्षित भएको बताए ।

साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारे ।  पौडेलले  भने, ‘नाटक लेखन, कविता लेखनका साथै नाटक निर्देशन र अभिनयमा समेत समको विशिष्ट योगदान रहेको पाइन्छ । समको नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान रहेको छ ।’

साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले समका रचनागत प्रवृत्ति झल्किने प्रतिनिधिमूलक कविताका अंशहरूको वाचन गरे ।

नेपाली शिक्षा परिषद्की अध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य रमा शर्माले नेपाली साहित्यका विशिष्ट साधक बालकृष्ण समको योगदान नेपाल र नेपाली कहिल्यै भुल्न नसकिने बताइन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर