•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  11:31:07 AM

महिलाको हत्या आरोपमा साधु पक्राउ

- आश्विन २३, २०८० मा प्रकाशित


चितवन । एक महिलाको हत्या आरोपमा एक साधु पक्राउ परेका छन् । साधु बनेर मन्दिरमा बस्दै आएका ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईंलाई १९ वर्षअघि महिलाको हत्या गरेको आरोपमा पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

उनी सोमबार पक्राउ परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन् । तोयानाथले २०६१ साल मंसिर १४ मा मनकुमारी वाग्लेको हत्या गरेको प्रहरीको आरोप छ । ढुंगा र बाँसको लौराले टाउकोमा हानेर मनकुमारीको हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

हत्यापछि तोयानाथले मनकुमारीको कानको गहना पनि लुटेर लगेको डीएसपी पण्डितले बताए । तोयानाथलाई प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रहरीको सहयोगमा बर्दघाट–४ बाढीपीडितको शिव मन्दिरबाट समाएको हो । चितवनको साविक मेघौली गाविस–३ र हाल भरतपुर महानगरपालिका–२८ का तोयानाथ र मनकुमारी सौतेनी आमा–छोरा भएको डीएसपी पण्डितले बताए । उनका अनुसार भरतपुर–७ को घरमा बस्दै आएकी मनकुमारीको हत्या गरेर फरार रहेका तोयानाथ सुरूमा लुक्दै केही समय होटलमा पनि काम गरेको खुल्न आएको छ ।

Comments

सम्बन्धित खवर