•  २१ बैशाख २०८१, शुक्रबार
  •  8:16:54 AM

डेंगु र मौसमी भाइरल ज्वरोपछि स्क्रब टाइफस संक्रमण बढ्दै

- भाद्र २२, २०८० मा प्रकाशित


उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको संक्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एक जनामा संक्रमण देखिएसँगै अहिले दैनिक बिरामीको संख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको संक्रमण देखा परेको अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाले जानकारी दिए । उनका अनुसार पछिल्लो केहीदिनयता बिरामीको संख्या दैनिक वृद्धि हुँदै गइरहेको छ ।

अस्पतालका फिजिसिएन डा. राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए ।

हाल यसको संक्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन् । साउनको पहिलो सातादेखि डेङ्गु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको संक्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए ।

‘स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग हो’, उनले भने । उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने संक्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको संक्रमण देखा परेको चिकित्सकको भनाइ छ ।

Comments

सम्बन्धित खवर