•  २२ भाद्र २०८१, शनिबार
  •  5:07:37 AM

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने

- श्रावण ११, २०८१ मा प्रकाशित



चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ। भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो।

धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो। फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिए।

उनले भने, ‘आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन्।’रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उनले बताए। महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताए। प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उनले बताए।

रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ।

धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उनले बताए। संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताए।

Comments

सम्बन्धित खवर