•  २२ भाद्र २०८१, शनिबार
  •  5:14:41 AM

रामेछापमा रोपाइँ सकेर घर आएका ३ किशोरी पहिरोमा पुरिए

- श्रावण ११, २०८१ मा प्रकाशित



रामेछाप । रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको छ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा उनकी १८ वर्षकी छोरी सता, नातिनीहरु १४ वर्षीया आसिका १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।

बिहीबार साँझ खेटमा रोपाइँ सकेर आएका उनीहरु घरभित्र आगो तापेर  बसिरहेको पहिरो खस्दा पुरिएका हुन्। सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए।

पहिराले घर पुरिएको सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली  घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताए। घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासीलगायतले उद्धार कार्य गरेका थिए।

Comments

सम्बन्धित खवर