
शरणार्थी प्रकरण : १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ताको तयारी
- जेष्ठ १०, २०८० मा प्रकाशित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज (बुधबार) जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।
अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
यस प्रकरणमा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरू थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।
उक्त घटनामा ६० दिनभित्रमा अभियोजन गरिसक्नु पर्छ । भोलि नै ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगो समेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।
शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका निलम्बित सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments