•  ३ जेष्ठ २०८१, बिहीबार
  •  4:34:52 AM

पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पणलगत्तै कारागार चलान

- बैशाख १६, २०८० मा प्रकाशित


विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्व सांसद गुलेफुन खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।

सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशाख ३१ गते तत्कालिन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो ।

तत्कालिन गाबिसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको छ । जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उच्चको विरुद्धमा सर्वोच्चमा दोहोर्याइ पाउँ भनि दिएको निवेदनमा पनि सर्वाेच्चबाट निस्सा नपाएपछि उनको सांसद पद खारेज भएको थियो ।

साविक कदमाह गाविस–२ (हाल कटहरी –९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो । खातुनले तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो । उनी निरक्षर हुन् ।

Comments

सम्बन्धित खवर