•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  10:27:18 AM

बिराटचाेक महाेत्सव तथा फुड फेस्टिवल शुरू

- फाल्गुन ९, २०७९ मा प्रकाशित


इटहरी । माेरङकाे सुन्दरहरैँचास्थित झरना यूवा क्लबकाे आयाेजनामा बिराटचाेक महाेत्सव तथा फुड फेस्टिवल २०७९ शुरू भएको छ ।आईतबार सुरु भएको उक्त फेस्टिवल आगामी फागुन २१ गते सम्म सञ्चालन हुने कृषि , पर्यटन र ब्यापार मेलाकाे उदघाटन नगर उपप्रमुख अकली चाैधरीले गरेकी थिइन । उनले व्यापार व्यवसायमा मन्दी देखिएको अवस्थामा युवाहरूकाे एकतामा महाेत्सवकाे आयाेजना भएर आर्थिक पक्षलाई चलायमान बनाउँने प्रयत्न गर्नु सकारात्मक पक्ष भएको उल्लेख गरिन् ।

उनले मेलाकाे लागि सफलताको शुभकामना प्रकट गर्दै स्थानीय क्षेत्रमा सञ्चालन भएको महाेत्सवलाइ सफल बनाउँन सबैकाे साथ सहयाेगकाे खाँचो भएको बताइन् । महाेत्सवकाे उदघाटन समारोहमा सुन्दरहरैँचा नगरपालिका वडा न. ९ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ , नगर प्रवक्ता राेशनप्रसाद ढकाल ,नेपाली काँग्रेसका जिल्ला सचिव ललितबहादुर श्रेष्ठ , नेकपा माओवादी प्रदेश कमिटी सदस्य नवराज चापागाईं लगायतले शुभकामना मतव्य व्यक्त गरे ।

अधिकांश वक्ताहरूले स्थानीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर आफ्नाे ठाउँकाे पहिचान उच्च राख्न मेला सञ्चालन गर्नु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरे ।

युवा उद्यमशीलता, देशकाे आवश्यकता भन्ने नारा सहित भएको बिराटचाेक महाेत्सव सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयाेग जुटाउँने लक्ष्य अनुरूप सञ्चालन गरिएको मेलाका संयाेजक भविन पाण्डेले जानकारी दिए । महाेत्सवमा व्यापार व्यवसायलाई अभिबृद्वि गर्नका लागि ५० वटा स्टलहरू राखिएकाे छ ।` महाेत्सवका लागि करिव १ कराेड ६० लाख खर्च हुने तथा आम्दानी भएको रकमले शिक्षाक्षेत्र तथा महत्त्वपूर्ण समाजिक काममा खर्च गरिने उनको भनाइ छ ।

महाेत्सवकाे उदेश्य ग्रामिण बजारको विस्तारसँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको पर्वद्धन गर्ने ,लोप हुन लागेका लोककला संस्कृति साहित्यको जगेर्ना गर्ने , नगर भित्र रहेका पर्यटकिय क्षेत्रहरूको प्रचार-प्रसार गरी धार्मिक स्थलहरूको संरक्षण गर्ने रहेको छ । विभिन्न जातजातिका साँस्कृतिक सामाजिक तथा धार्मिक सदभाव अभिवृद्धि गरि स्थानिय व्यवसायलाइ प्रबर्द्धन गर्दै युवा उद्यमशिलतालाई प्रोत्साहन गर्नका लागि मेल सञ्चालन गरिएको आयाेजक क्लबका अध्यक्ष प्रल्हाद पाठकले बताएका छन् ।

दैनिक उपभोग्य वस्तु तथा सेवाहरू, जडिबुटि कृषि उत्पादन साथै कृषि प्रदर्शनी महाेत्सवमा समावेश गरिएको छ । साथै इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स,अटोमोबायल ,लुब्रिकेन्समोबाइल तथा सूचना प्रविधि समावेश छ । साना तथा घरेलु उत्पादन , हस्तकलाका सामग्रीहरू, गार्मेन्टस र फुटवेयर फलफूल साथै पुष्प प्रदर्शनी रहेको छ । जातिय पहिचानका सामग्रीहरू,साना तथा घरेलु उत्पादन अल्लोबाट उत्पादीत कपडाहरू, बाँसको हस्तकला, ढाकाका कपडाहरू रहेको आयाेजकले बताएको छ ।

महोत्सवमा मनोज गजुरेल, प्रविसा अधिकारी, प्रमोद खरेल, कमल खत्री, एलिना चौहान, मेलिना राई, प्रकाश सपुत+प्रिति आने, सुवानी मोक्तान, मन्त्रव्यान्ड, नविन के भट्टराई ,लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू मनाेरञ्जन प्रदानका लागि सहभागी रहने आयाेजकले उल्लेख गरेको छ ।

महाेत्सवलाई भव्यसभ्य बनाउँन जाेड दिएर सुरक्षाकाे व्यवस्थाका लागि सुरक्षाकर्मीका साथै युवा परिचालन गरिएकाे तथा आर्थिकपक्ष बलियाे बनाउँन टिकटबिक्री गरि सहयाेगका लागि व्यापारिक प्रतिष्ठान र स्थानीय सरकारसँग सहकार्य भएको मेलाका आर्थिक व्यवस्थापक युवेन गुरूङले बताए ।

मेलाका विशेष आर्कषणहरू

मनोरञ्जनात्मक खेल, स्थानीय तथा राष्ट्रिय कलाकारहरूका साथमा दैनिक सांस्कृतिक कार्यक्रमको प्रस्तुती रहने भएको छ । मेलामा विभिन्न साहित्यिक तथा नाट्य समुहबाट नाटक तथा साहित्यिक मनोरञ्जन दिवा र रात्रीकालिन सत्रमा छुटाछुटै कार्यक्रमहरू फेसन शो तथा विभिन्न प्रतिभाहरूको प्रदर्शन हुने आयाेजक क्लबका सचिव नगेन्द्रबहादुर भुजेलले जानकारी दिए ।

Comments

सम्बन्धित खवर