•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  9:14:41 AM

बिराटनगरमा ५ कराेडकाे लगानी सहित‘ग्रिनपार्क निर्माण हुने : मेयर काेइरालाले गरे उदघाटन

- फाल्गुन ४, २०७९ मा प्रकाशित


विराटनगर । विराटनगर महानगरपालिकाले ‘ग्रिनपार्क’ निर्माण गर्ने भएको छ । पाँच करोड बढीमा निर्माण हुन लागेको ‘ग्रिनपार्क’को बुधबार महानगरका मेयर नागेश कोइरालाले शिलान्यास गरेका छन् ।  महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको जनाएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । 

विराटनगर–१४ मा पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने रानीपोखरी ग्रिनपार्क दुई वर्षभित्रमा निर्माण हुने महानगरले जनाएको छ । विराटनगरलाई सफा, सुन्दर, हरियाली, व्यवस्थित विकसित बनाउने अभियानमा लागेकाले सबैले सहयोग गर्न मेयर कोइरालाले आग्रह गरे । उनले मण्ठापोखरी, विराटराजाको दरबारको भौतिक संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा गइसकेको समेत बताए । 

‘विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउने अभियानमा लागेका छौं’, मेयर कोइरालाले भने, ‘तुलनात्मक रूपमा दक्षिणी क्षेत्र विकासमा पछि परेको छ । यो कुरा हामीले बुझेका छौं । हामी विकासका लागि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।’रानीपोखरी ग्रिनपार्क ५ करोड १७ लाख ६४ हजार ७ सय ८४ रुपैयाँको लागतमा निर्माण हुनेछ । साढे २ बिघा क्षेत्रफल निर्माण हुने ग्रिनपार्कमा कम्पाउण्ड वाल, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, आकर्षक बगैँचा, मन्दिर, रानी माताको मूर्ति, विश्रामस्थल, शौचालयलगायतका संरचना निर्माण हुनेछन् । 

हाल सो ठाउँमा पोखरी रहेको छ । पोखरीलाई यथावत राखेर अन्य संरचना निर्माण गरिनेछ । सो पोखरीमा राजाविराटकी रानी आएर नुहाउने गरेको किवदन्ती छ । र्माणका लागि कला विल्र्डस विराटनगरले ठेक्का पाएको छ । ८ करोड, ३६ लाख ७७ हजार १ सय ६१ रुपैयाँमा लागत अनुमान गरिए पनि कला विल्र्डसले करिब ३ करोडभन्दा कममा ठेक्का पाएको हो । 

महानगर र निर्माण कम्पनी कला विल्र्डसबीच गत माघ १८ गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ माघ २९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सम्भव भएसम्म तोकिएको समय अगाडि नै निर्माण सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रमुख सञ्जयकुमार यादवले बताए । यादवका अनुसार कम्पाउण्ड वालबाट काम सुरु हुनेछ । ग्रिनपार्क निर्माणपछि आन्तरिक र सीमावर्ती भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने स्थानीय रतनकृष्ण यादवले बताए ।

Comments

सम्बन्धित खवर