•  १३ बैशाख २०८१, बिहीबार
  •  8:28:35 PM

गृह मन्त्रालय विवाद : रास्वपाले दुई दिन पर्खिने

- माघ २०, २०७९ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने निर्णयबाट पछि हटेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा बिहीबार बेलुका बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा मन्त्री र अधिकांश सांसदले ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने’ नीति नलिन जोड गरेपछि लामिछानेले निर्णय बदलेका हुन् । बैठकमा लामिछानेले पूर्वसहमतिअनुसार गृह नपाइएको भन्दै सरकारबाट बाहिरिने प्रस्ताव राखेका थिए । त्यसपछि बोलेका मन्त्री र सांसदले गृह नपाएकै कारण सरकारबाट बाहिरिँदा गलत सन्देश जाने तर्क गरेका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय संयन्त्र संयोजक केपी शर्मा ओलीसँग थप संवाद गर्नुपर्ने मत राखेका थिए ।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवम् गृह मन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने पुस ११ गते उप प्रधान एवम् गृह मन्त्री बनेका थिए ।

यही माघ १५ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम सभापति लामिछानेले पुनः नागरिकता लिइ सकेका छन् । रास्वपाबाट अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।

माओवादी केन्द्रको बिहीवार बसेको स्थायी कमिटीको बैठकले भने रास्वपाका सभापति लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म उसले धैर्य गर्नुपर्ने जनाएको थियो ।

Comments

सम्बन्धित खवर