•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  4:44:56 PM

युवतीलाई होटलमा ‘बन्धक’ बनाएर पटक-पटक करणी, एक महिलासहित तीन जना पक्राउ

- जेष्ठ १६, २०७९ मा प्रकाशित


पर्सा । काठमाडौंकी एक युवतीलाई पर्साको वीरगञ्जस्थित एक होटलमा बन्धक बनाएर पटक-पटक करणी गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

युवतीलाई प्रलोभनमा पारी बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्ज प्रहरीले मोरङ कटहरी गाउँपालिका-४ घर भई हाल वीरगञ्ज महानगरपालिका-८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह, वीरगञ्ज-१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) र जुम्ला हेमा गाउँपालिका-३ जोगीवडा टोल घर भई हाल वीरगञ्ज-१६ फूलबारी टोलमा डेरा गरी बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगी छन् ।

साहले जेठ ५ गते काठमाडौंकी २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बसपार्कस्थित एक होटलमा लगेर पटक-पटक करणी गरेको उनलाई आरोप लागेको छ । त्यसपछि उनले जेठ ९ गते ती युवतीलाई होटल सञ्चालिका कार्कीको जिम्मा लगाई आफू फरार भएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार कार्कीले जेठ १० गते योगीले विवाह गर्छ भनी झुक्याएर ती युवतीलाई योगीको जिम्मा लगाएकी थिइन् भने योगीले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटक-पटक जबरजस्ती करणी गरी कोठा बाहिर निस्कन नदिई राखेका थिए ।
शनिबार राति ९ बजेतिर ती युवती योगीको कोठाबाट भागेर आफन्तको सम्पर्कमा आएकी थिइन् । आइतबार घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विभिन्न टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट तीनै जनालाई पक्राउ गरेको थियो । आरोपितहरूलाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Comments

सम्बन्धित खवर