•  ४ जेष्ठ २०८१, शुक्रबार
  •  2:06:53 PM

तारा एयरको जहाज भन्दै भारतीय हेलिकोप्टरको फोटो भाइरल!

- जेष्ठ १५, २०७९ मा प्रकाशित


काठमाडाै । आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म बेपत्ता छ। मुस्ताङको शिखा पुगेर अन्तिम सम्पर्क भएको जहाज त्यसपछि बेपत्ता भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

जहाज बेपत्ता भएको तीन घण्टा बितिसक्दा पनि अहिलेसम्म अवस्था पत्ता लागेको छ। प्राधिकरण र ताराको मूल संस्था यति एयरलाइन्सले पनि जहाजको अवस्था अज्ञात नै रहेको जनाएको छ।तर यसबीचमा मुस्ताङमा ताराको जहाज दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनाइयो।

जहाज बेपत्ता भएको क्षेत्रमा मानिसहरु पैदलबाट र जोमसोमबाट हेलिकोप्टर समेत जान नसकेको अवस्थामा एकाएक भाइरल भएको उक्त फोटोले स्तब्ध बनायो।

बेपत्ता जहाज र त्यसमा सवार चालक दलका तीनसहित २२ जना सकुशल भेटियुन् भन्ने कामना भइरहेका बेला उक्त तस्बिर एकाएक भाइरल हुन पुगेको हो। सामाजिक सञ्जाल फेसबुकमा एकाएक भाइरल भएको त्यो तस्बिर नेपालमा भएका कुनै हवाई दुर्घटनासँग सम्बन्धित थिएन। 

सामाजिक सञ्जालका प्रयोगकर्ताले घटनाको वास्तविकतासम्म पुग्दै नपुगी मुस्ताङमा ताराको जहाज दुर्घटना भन्दै भाइरल बनाइएको त्यो तस्बिर थियो भारतको।

भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारतीय सेनाका पूर्व प्रमुख विपिन रावत सवार उक्त हेलिकोप्टर गत मंसिर २२ गते दुर्घटनामा परेको थियो। 

उक्त हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त हुँदा रावतसहित १४ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अत्याधुनिक सुरक्षाप्रणालीसहितको उक्त हेलिकोप्टर दुर्घटनाका कयौँ प्रश्न अझै अनुत्तरित रहेका छन्। 

उक्त हेलिकोप्टर दुर्घटनाको फोटोलाई ताराको जहाजको फोटो भन्दै भाइरल बनाइरहँदा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनाबारे अझै पुष्टि नभएको बताएका छन्।

जहाज हराएको भनिएको अन्तिम विन्दुलाई केन्द्रित गरेर जोमसोमबाट हेलिकोप्टर पठाउन खोजिए पनि खराब मौसमले सम्भव नभएको बताएका छन्। 

Comments

सम्बन्धित खवर