एजेन्सी । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्।शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी समयपछि मानिसलाई चन्द्रमाको नजिक पुर्याएर सुरक्षित रूपमा पृथ्वीमा फर्काइएको यो पहिलो ऐतिहासिक मिसन हो।
अप्रिल १ मा फ्लोरिडाको केप क्यानाभेरलबाट स्पेस लन्च सिस्टम एसएलएस रकेटमार्फत प्रक्षेपण गरिएको यो मिसनले कुल ११ लाख १७ हजार ५१५ किलोमिटर दूरी तय गरेको थियो।मिसनमा अमेरिकी अन्तरिक्ष यात्री रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानेडियन अन्तरिक्ष यात्री जेरेमी ह्यान्सन सहभागी थिए।
यस यात्राले थुप्रै कीर्तिमान कायम गरेको छ। ग्लोभर चन्द्रमाको नजिक पुग्ने पहिलो अश्वेत, कोच पहिलो महिला र ह्यान्सन पहिलो गैर-अमेरिकी नागरिक बनेका छन्। टोली पृथ्वीबाट ४ लाख ६ हजार ७७१ किलोमिटरभन्दा टाढा पुग्दै सन् १९७० को एपोलो–१३ मिसनको दूरी कीर्तिमानलाई समेत पार गरेको छ।
सन् २०२२ मा मानवरहित परीक्षण सफल भएपछि यो ओरायन क्याप्सुलको पहिलो मानवसहितको उडान थियो। आगामी सन् २०२८ देखि चन्द्रमाको सतहमा मानव अवतरण र दीर्घकालीन रूपमा मंगल ग्रहसम्म अन्वेषण विस्तार गर्ने योजनाका लागि यसलाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ।यस सफलताले ओरायन अन्तरिक्षयानको ताप प्रतिरोधी प्रणाली प्रभावकारी रहेको पुष्टि गरेको छ। साथै, बोइङ र नर्थरोप ग्रुम्यानले विकास गरेको एसएलएस रकेट मानवसहितको उडानका लागि सुरक्षित र सक्षम रहेको पनि प्रमाणित भएको छ।

























Discussion about this post