इटहरी । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्र मानिन्छ। राणा विरोधी आन्दोलनदेखि पञ्चायत विरोध, माओवादी जनयुद्धपछि भएका चुनाव र राजतन्त्रविरुद्धको आन्दोलनसम्म यहाँका मतदाताले परिवर्तनलाई साथ दिएका छन्।
यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टीको “मत परिवर्तन” नाराले अपेक्षित प्रभाव पार्न सकेन। पूर्वी पहाडको मत स्थानीय नेता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीतर्फ गएको देखिन्छ।
समानुपातिक मत परिणामअनुसार कोशी प्रदेशमा रास्वपाले करिब ३ लाख ५३ हजार मत ल्याउँदा श्रम संस्कृति पार्टीले करिब २ लाख ९२ हजार मत प्राप्त गरी दोस्रो ठूलो दल बनेको छ। कांग्रेस र एमाले पनि नजिकैको मतसहित प्रतिस्पर्धामा रहेका छन्।
पूर्वी पहाडका धेरै क्षेत्रमा प्रत्यक्ष जित कम भए पनि श्रम संस्कृति पार्टीले उल्लेखनीय मत ल्याएको छ। यसको मुख्य कारण धरानका मेयर हर्क साम्पाङले अघि सारेको श्रमदान, पारदर्शिता र स्वदेशमै रोजगारीको अभियानलाई मानिन्छ।
विश्लेषकहरूका अनुसार पहिचानवादी मनोविज्ञान, पुराना दलप्रति असन्तुष्टि र स्थानीय नेतृत्वप्रतिको विश्वासले पनि श्रम संस्कृति पार्टीको लोकप्रियता बढाएको देखिन्छ। तर पूर्वी पहाडको जनमत परिवर्तनशील हुने भएकाले यो समर्थन दीर्घकालीन हुन्छ वा हुँदैन भन्ने कुरा समयले तय गर्नेछ।



























Discussion about this post