इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छिन् ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन् । उनले आजै शपथग्रहण गरिसकेकी छिन् ।
संघीय संसद्ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद् गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।
संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।पछिल्लो प्रदर्शन क्रममा उठेको संसद् विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।
जेन-जी अभियन्ताहरूले संसद्बाट नभइ राष्ट्रपतिबाटै प्रधानमन्त्री नियुक्ति र संसद् विघटन गर्न राखेको मागमा सहमति भएअनुसार कार्कीलाई उल्लेखित धाराबाट प्रधानमन्त्री नियक्ति गरिएको हो ।कार्की प्रधानमन्त्री भएलगत्तै शपथग्रहण समारोहमा भाग लिन पूर्वप्रधानमन्त्रीहरू, प्रधानन्यायाधीशलगायत विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन् ।



























Discussion about this post