इटहरी । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट १४,८०२ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी अम्बर बहादुर रायामाझीले ७,६४८ मत प्राप्त गरेका थिए।
कर्जा सूचना केन्द्रका अनुसार तामाङ संलग्न मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको छ, जसका सञ्चालक तामाङ र लीला राई रहेका छन्।
यसअघि कालो सूचीमा परेका कारण धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो। त्यसपछि उक्त क्षेत्रबाट मातृका प्रसाद यादव निर्वाचित भएका थिए।
साहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगलाई सम्बन्धित फाइलसहित उपस्थित हुन आदेश दिएको छ।


























Discussion about this post