इटहरी । सुजन लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय युवा नेता हुन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उनी आफ्नो राजनीतिक यात्रा अघि बढाइरहेका छन्। उनी युवा सशक्तीकरण, स्थानीय विकास र जनप्रतिनिधित्वमा केन्द्रित दृष्टिकोण राख्ने नेताका रूपमा परिचित छन्। राजनीतिमा प्रवेश गर्नुको उद्देश्य केवल सत्ता वा पद प्राप्ति होइन, समुदायका वास्तविक आवश्यकता पूरा गर्नु र समाजको समग्र विकासमा योगदान पुर्याउनु हो। उनी पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामा विश्वास राख्छन्।
लामा युवा उम्मेदवारका रूपमा चर्चामा छन्। यस क्षेत्रमा एमालेको राम्रो संगठन रहेको र त्यसको प्रतिफल चुनावमा देखिने उनको दाबी छ। लामाले भने, ‘एमाले सुनसरी–२ मा कमजोर छैन। संगठन बलियो छ, कार्यकर्ता सक्रिय छन्। युवाले अब नयाँ सोच र ऊर्जासहितको नेतृत्व चाहेका छन्। म युवाको प्रतिनिधित्व गर्दै विकास र रोजगारीको एजेन्डा लिएर चुनावमा आएको छु। जित एमालेकै हुन्छ लामाले भने।’
सामाजिक सेवा र राजनीतिक सक्रियता दुवैमा संलग्न रहँदा उनी स्थानीय विकास, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रका परियोजनामा प्रभावकारी बनेका छन्। यसले उनीलाई व्यवहारिक र विश्वासयोग्य नेता बनाएको छ।
सुनसरी क्षेत्र नं. २ लाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना रहेको उनी देख्छन् । तर निम्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई समान पहुँच सुनिश्चित नगरेसम्म त्यो सम्भावना अधुरो रहने उनको तर्क छ ।
स्वास्थ्य पूर्वाधारको अवस्था पनि चुनौतीपूर्ण रहेको उनी बताउँछन् । गम्भीर उपचारका लागि धरान, विराटनगर वा काठमाडौं धाउनुपर्ने बाध्यता अझै कायम छ । स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न पहल आवश्यक रहेको उनको धारणा छ ।
रोजगारी, उद्यम र पूर्वाधार
उद्यम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण कमजोर हुँदा विदेश पलायन बढिरहेको उनी बताउँछन् । तीनै तहका सरकारबीच समन्वय गर्दै ठूला परियोजना र उद्योगलाई क्षेत्रभित्र भित्र्याएर रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन् ।
इटहरीलाई बाइपास सडक र करिडोरमार्फत जोडेर किसानका उत्पादनलाई बजारसम्म सहज पहुँच दिनुपर्ने, बाढी नियन्त्रणका लागि तटबन्ध र नदी व्यवस्थापनमा लगानी बढाउनुपर्ने, तथा अव्यवस्थित बसोबासको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको प्राथमिकतामा पर्छ ।
खेलकुद, कला र पर्यटन
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई खेलकुद, योग र कसरतमा उत्प्रेरित गर्नुपर्ने आवश्यकता उनी देख्छन् । संगीत, कला र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्दै उत्सव तथा प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना पनि उनको प्राथमिकतामा छ ।
सुनसरी–२ भित्र रहेका तालतलैया, प्रणामी मन्दिरलगायतका पर्यटकीय स्थलहरूको व्यवस्थित प्रचार–प्रसार र विकासले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सक्ने विश्वास उनको छ ।
प्रतिबद्धताको घोषणा
सुजन आफूलाई युवाको भावना बुझ्ने नेतृत्वका रूपमा प्रस्तुत गर्छन् । जेन–जी पुस्ताले उठाएका सवाललाई सदनभित्र बुलन्द रूपमा उठाउने र व्यवहारमा उतार्ने प्रतिबद्धता उनको छ । महिलाको सीप विकास, शिक्षा विस्तार, ज्येष्ठ नागरिकको भत्ता तथा स्वास्थ्य सुविधामा सुधार—यी सबै उनका योजनाका अंग हुन् ।
उनको जीवनकथा एक आम नेपालीको संघर्ष र आशाको प्रतिबिम्ब हो । साँचो नेतृत्व दूरीबाट होइन, जनतासँगै उभिएर जन्मिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै सुजन दुम्जन लामा आफ्नो क्षेत्रको विकासका लागि इमान्दार प्रतिबद्धतासहित अघि बढिरहेका छन् ।



























Discussion about this post