इटहरी । पर्वतारोहण र पदयात्राका क्रममा हुने गरेको नक्कली उद्धार (फेक रेस्क्यू) को केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गहिराइसम्म पुगेर अनुसन्धान थालेको छ ।
अनुसन्धानका क्रममा यी बदमासहरूले विमानस्थलमा रहेको अभिलेखको विवरणलाई नै थपघट गरी ‘प्यासेन्जर मेनिफेस्ट’ नै किर्ते गरी आफ्ना अस्पतालमा उपचार गराएको देखाएर बिमा रकम दाबी गरी ठगी गरेको पाइएको सिआइबीले जनाएको छ । यसमा अधिकांश निजी हेलिकोप्टर सञ्चालकसमेत संलग्न भएको पाइएको सिआइबी जनाएको छ ।
सिम्रिक एयर, हेली एभरेस्ट, अल्टीच्यूट एयर, मनाङ एयर, डाइनेष्ट हेलिकप्टर, कैलाश हेली, मनाङ हेलिकप्टर, प्रभु हेलिकप्टर गरी नेपालमा हाल करिब एक दर्जन हेलिकप्टर कम्पनी रहेका छन् । यी हेलिकप्टर कम्पनीहरू अधिकांश फेक रेस्क्यूमा संलग्न भएको पाइएपछि अनुसन्धान थप जटिल र विस्तार हुँदै गएको हो । मुख्य गरी हेली एभरेस्टका सञ्चालकहरू ईजि हेलिकप्टर कम्पनी, इरा हस्पिटल, ट्रेकिङ तथा एक्स्पीडिसन कम्पनीसँग प्रत्यक्ष जोडिएकाले यो कम्पनी माथि समेत अनुसन्धान सुरु गरेको जनाएको छ । उता अल्टिच्यूट एयरका सञ्चालकहरू पटक पटक फेक रेस्क्यूसँग जोडिएको प्रमाण भेटेपछि सिआइबीले अनुसन्धान थालेको हो ।
यस अघि नै अनुसन्धान गरी कारबाही गर्न सिफारिस भए पनि यस अघिल्ला सरकार र राजनैतिक दलका अगुवाहरूले गिरोहको संरक्षण गर्न अनुसन्धानलाई प्रभावित बनाएको थियो ।
सिआइबीले गरेको अनुसन्धानमा फेक रेस्क्यूको अर्को नयाँ पाटो फेला परेको छ । नक्कली उद्धारमा संलग्न मध्ये नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल, प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एक्सीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चाल एवं प्रबन्धक सुभाष केसी पक्राउ र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिरहेको छ ।
यता चीन र भारत जस्ता ठुला मुलुकमा निजी हेलिकप्टर कम्पनी छैन । यी देशमा सरकारबाटै उद्धारको कार्य हुने गर्दछ तर नेपालमा भने सरकारका मन्त्री, सचिव देखि कर्मचारी तन्त्र नै आर्थिक प्रलोभनमा परेर राज्यको हित विपरीत काम गर्न स्वीकृति दिने गरेको छ । यसको उदाहरण हेलिकप्टर व्यवसाय हो ।
यस्तो गतिविधिपछि पर्यटकीय देश नेपाल विश्वमै बदनाम मात्र नभएर बिमाको अवस्था समेत इराक र अफगानिस्तानको जस्तै रेड जोनको तुलनामा प्रिमियम तिर्नु पर्ने भएको छ । यसले विश्व बजारमा नकारात्मक असर पारेकाले नेपालमा आउने पर्यटकको सङ्ख्यामा समेत कमी आएको छ ।


























Discussion about this post