इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हिमाली र पहाडी जिल्लामा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा सम्भव रहेको बताएकी छन् । हिमाली जिल्लामा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका लागि सोलुखुम्बु पुगेका प्रधानमन्त्री कार्कीले सोलु लगायत हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको जानकारी दिएकी हुन् ।
प्रधानमन्त्री कार्कीले कुनै बहानामा निर्वाचन सार्ने अवस्था नरहेको स्पष्ट पार्दै भनिन्, ‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन। हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ।’
उनले आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित हुनेमा ढुक्क रहन आग्रह गरिन् । साथै, सम्बद्ध सबै निकायलाई पनि आफ्नो सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित गर्न निर्देशन दिइन् ।
जिल्ला सुरक्षा समितिसँगको ‘ब्रिफिङ’मा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै डर, दबाब वा प्रभाव बिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिएन् । दुर्गम हिमाली मतदान केन्द्रमा सुरक्षामा सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न पनि उनले निर्देशन दिइन् ।
प्रधानमन्त्रीको अवलोकनमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले जिल्लाको सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था र पहुँचसम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन् । प्रधानमन्त्रीले सबै मतदान केन्द्रहरूको सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिइन् ।
सोलुखुम्बु जिल्लामा जम्मा १२३ मतदानस्थल छन्, जसमा सातवटा हिमाली क्षेत्रका मतदान केन्द्र पर्दछन्। प्रमुख जिल्ला अधिकारी केसीका अनुसार हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना पनि तयार गरिएको छ।
प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै दुर्गम क्षेत्रका मतदाताले सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइने जानकारी दिइन् ।



























Discussion about this post