अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको प्रहरीले खुलायो पहिचान
- भाद्र १४, २०८१ मा प्रकाशित
एजेन्सी । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय स्थानीय प्रहरीले खुलाएको छ ।
ह्युस्टन प्रहरीले बिहीबार (आज) राति हत्या आरोपमा पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बब्बीसिंह शाह भएको सार्वजनिक गरेको हो । यसअघि प्रहरीले मुना बस्ने गरेको अपार्टमेन्टबाट बाहरिँदै गरेको व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । ती व्यक्ति शाह नै भएको ह्युस्टन प्रहरीले जनाएको छ । तर उनको ठेगाना तथा हत्याको कारण भने अहिलेसम्म खुलाइएको छैन । शाहलाई बुधबार राति ८ बजे ट्राफिक स्टपबाट पक्राउ गरिएको ह्युस्टन प्रहरीले जनाएको छ ।
गत सोमबार साँझ मुना पाण्डे ह्युस्टनको वेस्ट एयरपोर्ट बुलेभार्डस्थित आफ्नै अपार्टमेन्टमा गोली लागेको अवस्थामा मृत फेला परेकी थिइन् । नेपालिज एशोसिएसन अफ ह्युस्टनका द्रोण गौतमका अनुसार पाण्डेलाई तीन गोली लागेको थियो र उनी ओछ्यानमै पल्टिरहेको अवस्थामा भेटिएकी थिइन् ।
स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् । सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् । पाण्डेको अन्तिम संस्कारका लागि नेपालबाट उनकी आमा अनिता पाण्डे अधिकारी अमेरिका जान चाहेकी छन् । तर उनले आर्थिक समस्या भएको बताएकी छन् ।
मुनाको अन्तिम संस्कार तथा उनकी आमालाई अमेरिका यात्राका लागि खर्च जुटाउन गोफन्डमी अभियान सुरु गरिएको छ । ५० हजार डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको गोफन्डमी अभियानले सहयोगका लागि सबैसँग अपिल गरेको छ । मुनाकी आमा अनितालाई छोरीको अन्तिम संस्कारका लागि अमेरिका ल्याउन समेत आर्थिक सहयोग गर्नुपर्ने देखिएको अभियानले जनाएको छ । मुना आफ्नी एक मात्र सन्तान भएको र उनी पनि बितेपछि आफ्नो संसारै सकिएको दुखेसो अनिताले गरेकी छन् ।
सम्बन्धित खवर
-
ताजा आश्विन २, २०८१प्रचण्डको दावी : देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने जनताले बुझ्न थालेका छन्
-
ताजा आश्विन २, २०८१रास्वपाले आज महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने
-
ताजा आश्विन २, २०८१इटहरी २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु
-
ताजा आश्विन २, २०८१पश्चगामी सोंचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैन : राष्ट्रिय सभा अध्यक्ष
-
ताजा आश्विन २, २०८१रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि
Comments