भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौंसम्म
- आश्विन २, २०८१ मा प्रकाशित
भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाैसम्म पनि उत्तिकै छ ।
अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए । उनले भने, ‘अहिले प्रतिकेजी दुई सय ५० देखि तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।’
खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राईले त्यसैमध्येको एक हुन् । १० वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका हुन् ।
‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ’, राईले भने । दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरु पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ ।
पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेकी मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन् । जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments