•  ३ आश्विन २०८१, बिहीबार
  •  9:40:00 PM

रास्वपाको आगमन नै अरुका लागि समस्या : रवि लामिछाने

- आश्विन १, २०८१ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीप्रतिको आकर्षण दिन प्रतिदिन बढिरहेको बताएका छन् ।

उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफूहरुले अवमूल्यन नगर्ने स्पष्ट गरे ।  सभापति लामिछानेले आफूहरु राम्रो–नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरुको आगमन नै अरुको लागि समस्या बनेको बताए ।

उनले आफूहरुको आक्रमण पनि ठूलो हुने हुनाले आफूहरुप्रतिको आक्रमण पनि ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए । लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गरे । यो लडाईमा आफूहरुलाई हार्ने छुट नभएको बताउँदै आफूहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए ।

सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले आफूलाई सहकारी ठगी नगरेको भन्दै आफूलाई गोर्खा मिडिया सञ्चालनमा  जवाफदेही भएको समितिले ठहर गरेको बताए । बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेण्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदैछन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ । भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक– उपसंयोजक, प्रदेशको समिति–विभाग, केन्द्रीय समिति–विभाग–आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।

Comments

सम्बन्धित खवर