•  २० कार्तिक २०८१, मंगलवार
  •  1:28:15 AM

कोशीका सभामुखलाई राजीनामा गराउन कांग्रेस–माओवादी सहमति नजिक

- श्रावण १३, २०८० मा प्रकाशित



काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा बहुमत जुटाउने प्रयासमा कांग्रेस र माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रदेशसभा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्नेबारे कांग्रेस–माओवादी सहमति नजिक रहेको एक नेताले जानकारी दिए ।

‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा छलफल भयो । दुवै दल यसमा सकरात्मक छन्’, बालुवाटार स्रोतले भन्यो । सभामुख गौतमलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा कुरा मिल्न सकेको छैन । कांग्रेसले आफूले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताउँदा माओवादीको पनि दाबी छ । बैठकमा कोशी प्रदेश सरकारको लागि राप्रपासँग पनि छलफल गर्ने सहमति बनेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए । सभामुख गौतम सरकार टिकाउनकै लागि आफूले राजीनामा नदिने अडानमा थिए । माओवादीबाटै मुख्यमन्त्री बन्ने अवस्था आए र आफ्नो उचित व्यवस्थापन हुँदा सोच्न सकिने बारेमा पार्टीको आन्तरिक बैठकमा कुरा राख्ने गरेका छन् ।

तर, कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने समयमा प्रधानमन्त्री प्रचण्डले समर्थन गर्न निर्देशन दिएपछि उनी पछि हटेका थिए । सभामुखले राजीनामा दिँदा सरकार बनाउन सहज हुने बुझाई कांग्रेसको छ । बालुवाटारमा सहमति भए गौतमको विषयमा गठबन्धनले धेरै सोच्नुपर्ने अवस्था छैन ।

Comments

सम्बन्धित खवर