•  २० मंसिर २०८१, बिहीबार
  •  8:26:51 AM

सर्लाहीमा बेवारिसे महिलाले सडकमै जन्माइन् शिशु

- कार्तिक १९, २०८१ मा प्रकाशित



सर्लाही । सर्लाहीको लालबन्दीमा एक महिलाले सडक पेटीमै शिशुलाई जन्म दिएकी छन्। बेवारिसे अवस्थाकी ती महिला र उनको नवजात शिशुको स्थानीय प्रहरी र लालबन्दी नगरपालिले उद्धार गरेको छ।

आइतबार लालबन्दी नगरपालिका-१ नवलपुरस्थित पूर्वपश्चि राजमार्ग छेउको सडक पेटीमा भर्खरै शिशु (छोरी)लाई जन्म दिएको अवस्थामा ती महिला फेला परेकी थिइन्। तत्कालै उनको उद्धार गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए।

‘ती महिलाको नाम, ठेगाना खुल्न सकेको छैन,’ पाठकले नेपालखबरसँग भने,  ‘शारीरिक रुपमा कमजोर देखिने उनको मानसिक सन्तुलन पनि ठिक नभएको आशंका हामीले गरेका छौँ।’करिब ३०/३२ वर्षीया ती महिलाले नाम सोध्दा कृष्णा र घर इन्डिया बताउने गरेको इन्सपेक्टर पाठकले बताए।

आइतबार बिहान करिब ९ बजे ती महिलाले सडक पेटीमै बच्चा जन्माएको देखेपछि स्थानीयले नजिकैको प्रहरीलाई खबर गरेका थिए। ‘त्यसपछि हामीले नगरपालिका र वडा कार्यालयलाई खबर गर्यौँ,’ इन्सपेक्टर पाठकले भने,  ‘नगरपालिकासँगको समन्वयमा सुरुमा उनलाई लालबन्दी नगर अस्पतालमा उपचार गरेर थप उपचारको लागि राति नै जनकपुर पठाइएको थियो।’

जनकपुर प्रादेशिक अस्पतालमा आमा र बच्चाको स्वास्थ्य परीक्षण र उपचारपछि उनीहरुलाई आज मानव सेवा आश्रम धनुषाको जिम्मा लगाइएको पाठकले बताए। जनकपुर अस्पतालले आमा र बच्चाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ।

नवजात शिशु र सुत्केरीको उद्धारको लागि इन्सपेक्टर पाठक, लालबन्दी नगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिहर भट्टराई, लालबन्दी नगरपालिकाको विपद् तथा वातावरण शाखाका सुरेन्द्र खतिवडासहितको टोली खटिएको थियो।

ती महिला सडकमै यौन हिँसामा परेर गर्भवती भएको आशंका स्थानीयले गरेका छन्। तर, इन्सपेक्टर पाठकले भने यस विषयमा अहिले नै केही भन्न नसकिने बताए।

‘उनको आधिकारिक नाम ठेगाना खुल्न बाँकी नै छ। उनी कसरी लालबन्दी आइपुगिन् त्यो पनि खुलेको छैन। केही सोध्यो भने टाउको मात्रै हल्लाउँछिन्,’ इन्सपेक्टर पाठकले भने,  ‘उनले आफ्नो घर इन्डिया भएको बताएकाले उनी भारतीय हुनसक्ने आशंका हाम्रो छ। थप विवरण अनुसन्धानपछि खुल्दै जाला।’

Comments

सम्बन्धित खवर