इटहरी । कोसी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका कुल ४९५ जना उम्मेदवारहरू मध्ये ३९९ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा हाेमिएका मध्ये ९६ जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सफल भएका छन्।
क्षेत्रगत रूपमा हेर्दा सुनसरी क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३० जना उम्मेदवारको धरौटी जफत भएको छ। त्यसैगरी सुनसरीकै क्षेत्र नम्बर २ मा २६ जना र क्षेत्र नम्बर १ मा २४ जना र सुनसरी क्षेत्र नं ३ मा १८ जनाको जमानत जफत भएको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। सबैकाे चासाेकाे जिल्ला झापा क्षेत्र नम्बर ५ मा पनि २२ जना उम्मेदवारले आफ्नो धरौटी गुमाएका छन्।
सबैभन्दा कम उम्मेदवारको जमानत जफत भएको क्षेत्र भोजपुर १ र उदयपुर २ हुन्, जहाँ समान ७-७ जनाको धरौटी जफत भएको छ। मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मात्रै कुल ९१ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएकाे छ ।
समग्रमा कोसी प्रदेशमा चुनाव लड्ने ठूलो संख्याका उम्मेदवारहरूले कानुनी रूपमा तोकिएको न्यूनतम मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी रकम राज्यकोषमा जम्मा भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिए।
ताप्लेजुङ, सोलुखुम्बु र धनकुटा जस्ता एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा क्रमश ९, ९ र १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। इलाम क्षेत्र नं. १ मा ८ जना र क्षेत्र नं. २ मा १० जन, पाँचथर ११ जना, संखुवासभा १२ जना, ओखलढुंगा र खोटाङ समान ११–११ जनाको जमानत गुमेको हो।


























Discussion about this post