इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव हारे आफू इलाम छाड्ने घोषणा गरेका जगतबहादुर नेम्वाङले आफ्नो वचन पूरा गर्दै जिल्ला छाडेका छन । निर्वाचनका क्रममा टिकटकमार्फत रमेश बुढाथोकीसँगको संवादमा उनले यस्तो घोषणा गरेका थिए। ओली पराजित भएपछि नेम्वाङ इलाम छाडेर पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ स्थित आफ्नो पुर्ख्यौली थलो सिलिंदिङ पुगेका हुन्।
नेकपा (एमाले)का नेता तथा प्रदेशसभा सदस्य राम रानाले नेम्वाङले इलाम छाडेको पुष्टि गरेका छन्। उनका अनुसार चुनावी बहसका क्रममा बाजी राखेका नेम्वाङले हारपछि वचनअनुसार जिल्ला परिवर्तन गरेका हुन्। इलाम नगरपालिका–१० मा बसोबास गर्दै आएका नेम्वाङ एमाले नगर कमिटीका सदस्यसमेत थिए। उनले राजनीतिमा बोलेको कुरा पूरा गर्नुपर्ने मान्यता राख्दै आफूले घोषणा अनुसार कदम चालेको बताएका छन्।
उनका दुई छोरा र एक छोरी छन्। कान्छो छोरा भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा व्यापारमा संलग्न छन्। परिवारका अन्य सदस्य भने इलाममै बस्ने भएका छन् भने नेम्वाङ एक्लै पाँचथर सरेका हुन्। उनका अनुसार पाँचथरमा आफ्नै जग्गाजमिन भएकाले अब उतै बसोबास गर्ने योजना छ। पार्टी सदस्यता पनि पाँचथरमै सार्ने तयारी भइरहेको र यसबारे पाँचथरबाट एमाले उम्मेदवार बनेका आइन्द्र सुन्दर नेम्वाङ सँग संवाद भइरहेको उनले बताए।
नेम्वाङले राजनीतिमा नेताहरूले बोलेको कुरा पूरा नगर्दा जनतामा निराशा बढेको भन्दै आफू भने वचनको पक्का रहेको दाबी गरेका छन्। जिल्ला परिवर्तन गरे पनि एमालेको राजनीतिबाट टाढा नहुने उनले स्पष्ट पारेका छन्। परिवारसँग भेटघाटका लागि इलाम आउजाउ हुने भए पनि अब स्थायी बसोबास भने पाँचथरमै रहने उनको भनाइ छ।


























Discussion about this post