इटहरी । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा सबैभन्दा बढी रास्वपाका उम्मेदवारहरू रहेका छन् ।गत माघ ४ गते मध्य रातिदेखि लागू भएको आचारसंहिताअनुसार, निर्वाचन आयोगले उम्मेदवार, राजनीतिक दल, मुख्यमन्त्री, मन्त्री, संघ-संस्था र अन्य शैक्षिक संस्थाहरूलाई स्पष्टीकरण सोधेको हो।
आयोगका सहायक प्रवक्ता सीता पुनका अनुसार, सोमबारसम्म २९ वटा उजुरीमाथि कारबाही थालिएको छ । उम्मेदवारहरूले घृणास्पद अभिव्यक्ति दिएको, आचारसंहितामा तोकिएभन्दा बढी प्रचार सामग्री प्रयोग गरेको, र उम्मेदवारी मनोनयनमा तोकिएको भन्दा बढी व्यक्तिहरूलाई साथ लिएको जस्ता विषयमा स्पष्टीकरण मागिएको छ।कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई चुनावी प्रचारमा संलग्न भएकोमा स्पष्टीकरण सोधिएको छ। यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन अधिकृत कार्यालयमा उपस्थित भएको विषयमा पनि कार्कीसँग जवाफ मागिएको छ।
सुनसरी–४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्तामा साथमा उपस्थित रहेका इस्राइल मन्सुरीलाई पनि स्पष्टीकरण सोधिएको छ। त्यस्तै, प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोपमा श्रम संस्कृति पार्टीलाई र नेकपालाई पनि स्पष्टीकरण मागिएको छ।झापा–५ का रास्वपा उम्मेदवार बालेन्द्र शाह, भक्तपुर–२ का महेश बस्नेत र शोभा पाठकलाई घृणास्पद अभिव्यक्तिका लागि आयोगले स्पष्टीकरण सोधेको छ । शाहले केपी शर्मा ओलीलाई फेसबुकमा घृणास्पद टिप्पणी गरेको भन्दै जवाफ मागिएको हो।
साथै, झापा-५ मा बालेन्द्र शाहको प्रचारमा महिला प्रहरी प्रयोग गरेको गुनासो आएको विषयमा छानबिन भइरहेको छ ।भक्तपुर–२ मा महेश बस्नेत र शोभा पाठकलाई ‘हेट स्पिच’ सम्बन्धी जवाफ सोधिएको छ। बस्नेतलाई ‘छौरा’ शब्दको अपव्याख्यामा स्पष्टीकरण दिइनु पर्नेछ भने पाठकले द्वेषपूर्ण अभिव्यक्तिका कारण जवाफ दिनुपर्नेछ।
काठमाडौँ–४ का राप्रपा उम्मेदवार सुरेन्द्र भण्डारीलाई लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरेर घृणास्पद टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ।यस्ता विषयमा आयोगले विभिन्न उम्मेदवार र संस्थाहरूसँग जवाफ मागिरहेको छ । आयोगका प्रवक्ताले स्पष्टीकरण मागिएका व्यक्तिहरूका जवाफहरूको अध्ययन भइरहेको र आवश्यक कदम चालिने जानकारी दिएका छन्।




























Discussion about this post