ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी–६ भदौरेका बासिन्दाले न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म आगामी प्रतिनिधि सभाको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्।एक महिनाभित्र चार जनाको हत्या भएपछि गाउँका नागरिकहरूले असुरक्षाको माहोलमा बस्न असम्भव भएको बताउँदै गाउँलेहरू काठमाडौं र धरानतिर पलायन सुरु गरेका छन् भने बाँकी बासिन्दा दुई/तीन घर मिलेर एकै ठाउँमा सुत्न बाध्य भएका छन्।
समाजसेवी सन्तोषकाजी कार्कीका अनुसार किसानका गोठबाट खसी–बोका समेत चोरी भएका छन् र सरकारले नागरिकको सुरक्षा सुनिश्चित नगरेको भन्दै उनीहरू आगामी २१ फागुनको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन्।भदौरेको बोहोरे टोलमा एक साता अघि ८१ वर्षीया चन्द्रविक्रम राई र उनकी श्रीमतीको हत्या भएको थियो। घटनामा संलग्न व्यक्तिहरू अहिलेसम्म पहिचान हुन सकेका छैनन् । यसअघि एक महिनाअघि सोही गाउँमा ६० वर्षीय सोभितमान थापामगर र उनकी श्रीमतीको हत्या भएको थियो। प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
गाउँलेहरूले राज्यले सुरक्षा प्रदान नगरेको आरोप लगाउँदै व्यक्तिगत भेटघाटबाहेक कुनै पनि राजनीतिक सभा, जुलुस वा भेलामा सहभागी नहुने निर्णय पनि गरेका छन्। भेलामा सर्वपक्षीय रुपमा पीडितलाई न्याय दिलाउने, नागरिक सुरक्षा सुनिश्चित गर्न दबाब दिने र चरणबद्ध आन्दोलन सञ्चालन गर्ने उद्देश्यले २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ।
भेलाले जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनको माग समेत अघि सारेको छ। साथमा, हत्या घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कडा सजाय सुनिश्चित गर्न तथा अस्थायी सुरक्षा क्याम्प स्थापना गरेर प्रहरी र आवश्यक परे सेना परिचालन गर्न माग गरिएको छ।
दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न निशंखे प्रहरी चौकीलाई स्तरोन्नति गर्दै थप जनशक्ति परिचालन, भदौरे वडामा प्रहरी पोष्ट स्थापना र प्रमुख मार्गहरूमा निगरानीका लागि सिसि क्यामेरा जडान गर्ने माग पनि गरेका छन् । वडाअध्यक्ष बलराम कटवालले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा र न्याय सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिएका छन् ।




























Discussion about this post