इटहरी । विराटनगरमा आयोजित सभामा तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किराती समुदायको आस्थाको केन्द्र खुवालुङलाई क्रेन प्रयोग गरेर फुटाउने घोषणा गरे। उनले भनेका थिए, ‘स्टिमर चढेर चतराबाट एघार मिनेटमै भोजपुर पुग्न र भोजपुरबाट एघार मिनेटमै चतरा फर्किन बाधा बनेको एउटा ढुङ्गो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दैछौं।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि किराती समुदाय गम्भीर रूपमा आन्दोलित भयो। खुवालुङको विषय राष्ट्रिय बहसमा आयो। ८ फागुन २०७७ मा विराटनगरमै ओलीले फुटाउने घोषणा गरेको खुवालुङमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पुगे।
खुवालुङ अगाडि खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले लेखेका छन्, ‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो। मुन्धुममा यसलाई ‘सभ्यताको द्वार’ मानिन्छ। मुन्धुम पाठ तथा जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो। यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्धलाई झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्छ।’
कोशी नदी प्रणालीको प्रमुख नदी अरुणमा पूर्वबाट तमोर र पश्चिमबाट दूधकोशी मिसिने स्थानलाई त्रिवेणी भनिन्छ। भोजपुर, धनकुटा र उदयपुर जिल्लाको संगमस्थल यही त्रिवेणी हो। यही स्थानभन्दा अलि उत्तरतर्फ नदीको बीचमा रहेको वर्गाकार ढुङ्गो नै खुवालुङ हो। त्रिवेणीमा देखिने यही ढुङ्गा खुवालुङको प्रतीक मानिन्छ, जुन किराती समुदायको आस्था, विभाजन र एकताको गहिरो प्रतीक हो।
ओलीको अभिव्यक्तिपछि लामो समय किराती समुदाय आन्दोलित भएका थिए । किरातीहरुको आस्थासँग जोडिएको खुवालुङको संरक्षणको लागि सरकारी तवरबाट कुनै ठोस पहल भएको छैन, बरु ओलीले प्रधानमन्त्री भएको बेला फुटाउने योजना अघि सारेका थिए ।
संस्कृति र सम्पदा संरक्षणमा प्राथमिकताका साथ काम गरेका बालेनले खुवालुङ गएर किराती समुदायमा सन्देश प्रवाहको प्रयास गरेका छन् । किरात राई यायोक्खाका अध्यक्ष जिवन राई हाताछोले बालेनले विविधताको सम्मान गरेको भन्दै धन्यवाद भनेका छन् ।
के हो खुवालुङ ?
खुवालुङलाई किराती समुदायले आफ्नो सभ्यता, संस्कृति र दर्शनको उद्गमस्थलका रूपमा मान्छन्। किराती मिथकअनुसार, किराती पूर्खाहरू यही खुवालुङको ढोकाबाट प्रवेश गरी पूर्वी पहाडभरि फैलिएका हुन् भन्ने गहिरो विश्वास छ।
मिथकअनुसार, उहिले किराती पूर्खाहरू बसाइँसराइको क्रममा खुवालुङ आइपुगे। तर पहिलो समूह आइपुग्नेबित्तिकै खुवालुङको ढोका बन्द भयो। बाटो माग्दा ‘भोग’ नचढाई नखुल्ने भनियो। पछाडि हेर्दा उनीहरूले मोङ्खु (जुरेली) चरा देखे। त्यसै चरालाई वाणले हानेर खुवालुङलाई भोग चढाइयो। भोगपछि ढोका खुल्यो।
दोस्रो समूह आइपुग्दा पनि खुवालुङ उस्तै गरी बन्द भयो। यसपटक आफ्नै चेलीको औंला अम्लिसोको पातले काटेर रगत चढाइयो। खुवालुङ खुल्यो, तर चेलीको रगत धेरै बग्यो। उनीहरू बहिनीलाई बचाउन सकेनन् र त्यहीँ चिहान खनेर गाडेर अघि बढे।
फर्केर हेर्दा चेलीको रगत बाख्राले चाटिरहेको देखियो। त्यसपछि उनीहरूले भने, “मेरो सन्तानले अब तेरो माखु खाँदैनन्, तिमी अब सुङ्सा भयौ।” यही कारणले केही किराती समुदायले बाख्राको मासुलाई ‘सुङ्सा’ अर्थात् खान नहुने मासु मान्छन्।
मिथकअनुसार, केही समूह मधेसमै बसाइँ सरे। एउटा समूह तमोर नदी पछ्याउँदै गयो—ती लिम्बू भए। अरुण नदी पछ्याएर जाने याम्फू, लोहरूङ र मेवाहाङ भए। दूधकोशी पछ्याउने तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ, रायुङ, साम्पाङ, वान्तावा, दुमी, कोयी, कुलुङ, खालिङ, नाछिरिङ र थुलुङ राई भए। लिखु खोलै–खोला जाने जिरेल भए भने रावा खोला पछ्याउने नाछिरिङ कोयी भए। सुनकोशी पछ्याएर जाने सुनुवार, जिरेल, सुरेल, हायू र थामी भए।
खुवालुङ नतरीकन मधेसमै बसोबास गर्ने थारू, धिमाल, मेचे र कोचे समुदाय पनि यही कथासँग जोडिन्छन्। यद्यपि मिथकहरूमा पात्र र नाम फरक–फरक भेटिए पनि मूल कथा र सार सबैमा समान छ।
यसरी खुवालुङबाट विभाजित हुँदै गएका किराती पूर्खाहरू पूर्वी पहाडभरि फैलिन्छन्, भस्मे–खोरिया फाँड्छन्, भूमिलाई आवाद गर्छन् र किराती सभ्यताको रचना गर्छन्। यही कारण खुवालुङलाई किराती सभ्यताको प्रस्थानबिन्दु मानिन्छ। अध्येता भोगीराज चाम्लिङका अनुसार, यी किराती समूहहरू चीनको ह्वाङहो र याङ्सी नदीको बीचको नियाम क्षेत्रबाट योँला हुँदै खुवालुङ आइपुगेका हुन्।


























Discussion about this post