इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फ उम्मेदवारी दिएका १६ महिला मध्ये १३ जना निर्वाचित भएका छन्। जुम्लामा बिनिता कठायत ज्ञानेन्द्र शाहीसँग, सुनसरी–१ मा सरिन तामाङ हर्कराज राईसँग र हुम्लामा टासी ल्हान्जोम जयपती रोकायासँग पराजित भएका छन्।
संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुने कानुनी व्यवस्थाअनुसार रास्वपाको समानुपातिक बन्दसूचीबाट कम्तिमा ४८ जना महिला सांसद बन्ने निश्चित भएको छ। समानुपातिक सूचीमा रहेका ६० महिला मध्ये ४८ जना संसद पुग्ने देखिएको छ।
रास्वपाले समानुपातिकतर्फ प्राप्त मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। यसरी कुल १८२ सिटमध्ये ३३ प्रतिशत अर्थात करिब ६० जना महिला प्रतिनिधि हुनुपर्ने हुन्छ। प्रत्यक्षबाट १३ महिला निर्वाचित भएकाले बाँकी संख्या समानुपातिकबाट पूरा गरिनेछ।
समानुपातिकतर्फ सांसद बन्ने सम्भावित महिलामा प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, बिधुषी राणा, समिक्षा बास्कोटा, ज्वाला संग्रौला, क्रान्तिशिखा धिताल र रिमा विश्वकर्मा रहेका छन्।त्यसैगरी बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, पुनमकुमारी अग्रवाल, निशा मेहता, समिना मिया र अफ्सना बानु पनि सांसद बन्ने लगभग निश्चित देखिएका छन्।
यसैगरी विभिन्न क्लस्टरबाट अंकिता ठाकुर, सरिता महतो, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, कुसुम महर्जन, सुजता तामाङ, अमृता विक, सीता वादी र गीता चौधरी लगायत पनि सांसद बन्ने सम्भावना रहेको छ।यस्तै पुरुषतर्फ रमेश प्रसाईं, सुदीप ढकाल, प्रमोद न्यौपाने, राम लामा, खुश्बु सरकार श्रेष्ठ, सुप्रभात यादव, खगेन्द्र कर्ण, प्रकाशचन्द्र परियार र सुरेन्द्र चौधरी पनि सांसद बन्ने सम्भावना बलियो रहेको बताइएको छ।


























Discussion about this post