मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा झगडा छुट्याउन पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको छ। घटनामा एक प्रहरी सहायक निरीक्षक घाइते भएका छन् भने एक आक्रमणकारीलाई गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध सेवन गरी झगडा भइरहेको सूचनापछि पदमपोखरी प्रहरी चौकीबाट प्रसनि दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो। सोधपुछका क्रममा केही स्थानीय युवाले बियरको बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए।
आक्रमणबाट तामाङका दुवै हातमा चोट लागेको छ। ज्यानको जोखिम भएपछि उनले आत्मरक्षाका लागि एक राउण्ड गोली चलाउँदा सनिस तितुङ घाइते भएका छन्। उनलाई पेटको दाहिने भागमा गोली लागेको र हाल चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि पुस्कर बोगटीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको थियो। प्रहरीले आक्रमणमा संलग्न सन्जय जिम्बा र अजय थिङलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू यसअघि पनि लागूऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरीका घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


























Discussion about this post