इटहरी । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।
जसका कारण यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भेगको आकाशमा आंशिक बादल छ। अनि तराईका केही स्थानमा हुस्सु लागेको छ।
मौसम महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
‘हल्का वर्षाको सम्भावना देखिएको छ’, दाहालले आइतबार बिहान नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा साधारणतया मौसम बदली हुने सम्भावना छ।’ भनेको आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा बादल लाग्ने सम्भावना छ।
यस्तै राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बागमती प्रदेशका पहाडी र हिमाली भूभाग तथा कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। अनि तराईका थोरै स्थानमा तुँवालो रहनेछ।



























Discussion about this post