इटहरी । भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) उम्मेदवारका रूपमा आफ्ना मुख्य एजेण्डा सार्वजनिक गरेकी छन्। “नारा होइन, नतिजा” भन्ने स्पष्ट योजनासहित मैदानमा उत्रिएकी चौधरीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएकी छन्। नसक्ने काम नगर्ने, जे भनिन्छ त्यही गर्ने र अरू उम्मेदवारको आलोचना नगरी आफ्ना कार्यक्रम प्रस्तुत गर्ने उनको अडान छ।
विकास योजनामा निरन्तरता
चौधरीले पछिल्लो तीन वर्षमा १ अर्ब २३ करोड रुपैयाँ बराबरका विकास योजना सञ्चालन गरिएको दाबी गरिन्। अधुरा योजना पूरा गर्दै थप नयाँ परियोजना अघि बढाइने उनले बताइन्।
आवास र सामाजिक सुरक्षा
२७५ विपन्न परिवारलाई घर हस्तान्तरण गरिसकिएको उल्लेख गर्दै आगामी दुई वर्षभित्र थप ४ सय परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ।
भूमिहीन सुकुम्बासीलाई धनीपूर्जा उपलब्ध गराउन पहल गर्ने र नागरिकता समस्याका लागि हेल्प डेस्क स्थापना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
रोजगारी र महिला सशक्तीकरण
हालसम्म २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको दाबी गर्दै अब कम्तीमा ५ हजार थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ।
युवालाई एआईमा आधारित सूचना प्रविधि तालिम दिई घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण बनाइने उनले बताइन्।
५० हजार महिलालाई स्वरोजगारमा जोडिएको दाबी गर्दै थप ५० हजार महिलालाई आयआर्जनमा समेट्ने कार्यक्रम अघि सारिएको छ। विपन्न महिलालाई अधिकतम तीन लाख रुपैयाँसम्म सहुलियत ऋण बिउँ पूँजीका रूपमा उपलब्ध गराउन पहल गरिनेछ।
स्वास्थ्य र शिक्षा सुधार
विपन्न नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाइने, इटहरी र दुहबी अस्पतालको स्तरोन्नति गरिने तथा साप्ताहिक स्वास्थ्य शिविर सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ। ज्येष्ठ नागरिकका लागि ‘दन्त उपहार’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
विद्यालयमा कम्प्युटर तथा एआईमा आधारित शिक्षण प्रणाली लागू गर्न शिक्षक र विद्यार्थीलाई तालिम दिइनेछ। “आउ, पढ, कमाएर तिर” शैक्षिक ऋण कार्यक्रम सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
कृषि, पर्यटन र पूर्वाधार
तरकारी पकेट क्षेत्र घोषणा, उखु खेती प्रवर्द्धन, किसान मार्ट र वेयरहाउस सञ्चालन, मल–बीउ समयमै उपलब्ध गराउने योजना प्राथमिकतामा राखिएको छ।बर्जुताललाई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने तथा गढदेब बुद्ध क्षेत्रको प्रवर्द्धन गरिने बताइएको छ।
सडक, पुल, स्वच्छ खानेपानी र खेलकुद पूर्वाधार विस्तार गरिने उल्लेख गरिएको छ। इटहरी रंगशालालाई राष्ट्रियस्तरको बनाउने र क्रिकेट मैदान निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
संसदमा सशक्त आवाजको प्रतिबद्धता
चौधरीले संसदमा नागरिकका मुद्दा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाउँदै सूर्य चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेकी छन्।



























Discussion about this post