धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसले विश्वास दिएमा कांग्रेसको एकमना सरकार बन्ने बताएका छन्। शुक्रबार धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको एकमना सरकार बनेमा मधेसका मुद्दा बोक्ने बताए। ‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ।
त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ,’ थापाले भने, ‘चाहे त्यो संविधानसम्बन्धी विषय होस्, चाहे मधेसीमाथि हुने अन्यायपूर्ण विभेदसँग जोडिएको विषय हुन्, सबै मुद्दा कांग्रेसले बोक्छ।’त्यसैले मधेसलाई जोड्न आफू आएको उनको भनाइ थियो। ‘म निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ,’ उनले भने।
थापाले मधेस नेपाली कांग्रेसको जननी भएको जिकिर गरे। उनी सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका छन्। यसअघि काठमाडौँ–४ बाट चुनाव लड्दै आएका थिए। मधेसका मुद्दा सम्बोधन गर्न आफूले मात्रै जितेर नपुग्ने उनको भनाइ थियो। त्यसैले कांग्रेसका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे।
विगतमा कांग्रेसबाट कमीकमजोरी हुँदा छोडेका कार्यकर्ता पनि फर्किने क्रम सुरु भएको उनले जिकिर गरे। ‘हिजो पार्टीबाट कतिपय कमीकमजोरी भएका छन्। जसका कारण धेरै साथीहरू पार्टीभन्दा बाहिर जानुभएको छ,’ थापाले भने, ‘अब सबै साथीहरू एकजुट हुनुस्। एक भएर बाहिर गएकाहरूलाई घर फर्काउने पहल लिनुस्।’



























Discussion about this post