एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साँझबाट दुई दिने भारत भ्रमण सुरु गर्दैछन्। दुई देशबीच एस–५०० क्षेप्यास्त्र प्रतिरोधी प्रणाली र एसयू–५७ लडाकु विमानसम्बन्धी सम्झौता हुनसक्ने चर्चा छ। अमेरिकाको दबाबमा भारतले रुसी तेल खरिदको मात्रा घटाएसँगै पुटिनको यो भ्रमण भइरहेको हो। त्यसैले नरेन्द्र मोदी र पुटिनबीचको वार्तामा तेल पनि एउटा मुख्य एजेन्डा बन्ने देखिन्छ।
तर, विश्वको नजर पुटिनको भारत भ्रमणमा केन्द्रित हुनुको कारण भने सम्भावित हतियार खरिद सम्झौता नै हो।भारत लामो समयदेखि आधुनिक हतियारमा रुसमाथि निर्भर रहँदै आएको छ। २०१० देखि २०१५ को बीचमा भारतले आयात गरेका हतियारमध्ये ७२ प्रतिशत रुसबाट किनेको थियो। २०१५ देखि २०१९ को बीचमा त्यो परिमाण ५५ प्रतिशतमा घट्यो। २०२० देखि २०२४ सम्ममा ३६ प्रतिशतमा सीमित भएको छ।
किनकि पछिल्लो दशक भारतले रणनीतिक रूपमा रुसमाथिको निर्भरता घटाएर पश्चिम निकट बन्ने कोसिस गरेको थियो। सोही अनुसार अमेरिकाको इन्डो–प्यासिफिक रणनीति र क्वाडमा पनि सहभागी भएको थियो। र, पश्चिमा मुलुकबाट हतियार खरिदको मात्रा पनि बढाएको थियो। तर, डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेसँगै दिल्ली–वासिङ्टन सम्बन्धमा दरार पैदा भएको छ।
एक त अपरेसन सिन्दूरका क्रममा ट्रम्पले भारतीय नीतिविपरीत आफूले दुई देशबीच मध्यस्थता गरेको दाबी गरे। उनले पाकिस्तानी सेनाप्रमुखलाई ह्वाइट हाउसमा पनि निम्त्याए। अर्कोतिर, ट्रम्पको व्यापार युद्धमा भारत विश्वकै उच्च भन्सार महसुल बेहोर्ने मुलुक बन्न पुगेको छ।
अमेरिकासँग दूरी बढ्दै गएको र फ्रान्सबाट किनेको राफेल लडाकु विमान पाकिस्तानले चीनबाट खरिद गरेको जे–१० को तुलनामा दोयम ठहरिएको यो सन्दर्भमा भारत आधुनिक हतियार खरिद गरेर आफ्नो सैन्य शक्ति उकास्न चाहन्छ।अपरेसन सिन्दूरका क्रममा पाकिस्तानले राफेल विमान खसाइदिएको थियो। पाकिस्तानले चीनबाट पाँचौँ पुस्ताको जे–३५ लडाकु विमान पनि किन्ने घोषणा गरेको छ।
त्यसकारण पाकिस्तानसँग बाराबरीका लागि पनि भारत पाँचौँ पुस्ताको लडाकु विमान किन्नैपर्ने दबाबमा छ।‘यसबारे छलफल हुनेमा कुनै शंका छैन,’ पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले एसयू–५७ एउटा एजेन्डा भएको पुष्टि गर्दै भनेका छन्।पाँचौँ पुस्ताको लडाकु विमानका लागि रुस नै भारतका लागि सबैभन्दा सस्तो र उपयोगी स्रोत हो। किनभने रुसले सो विमानको प्रविधि हस्तान्तरण र भारतमै संयुक्त उत्पादनको प्रस्ताव पनि स्वीकार गरिसकेको छ।
त्यसका अलावा अपरेसन सिन्दूरका क्रममा एस–४०० क्षेप्यास्त्र प्रतिरोधी प्रणालीको सफलताबाट भारत सन्तुष्ट छ। यसको अझ आधुनिक संस्करण एस–५०० किन्न उसले जोड दिनेछ। तर, युक्रेनसँग जारी युद्धका कारण पर्याप्त मात्रामा रुसले यो हतियार उपलब्ध गराउन सक्नेमा कतिपय विश्लेषकले सन्देह गर्दै आएका छन्। भारतले यसअघि किनिसकेको एस–४०० केही परिमाणमा अझै आपूर्ति भइसकेको छैन। मोदीले पुटिनसँग त्यो डेलिभरी छिटो गरिदिन पनि ताकिता गर्नेछन्।
पुटिनको नजरबाट भने तेल प्रमुख एजेन्डा हो।यतिबेला भारत विश्वको तेस्रो ठूलो कच्चा तेल खरिदकर्ता हो। र, पछिल्लो समय यसको ठूलो हिस्सा उसले रुसबाट किनिरिहेको छ। युक्रेन युद्धअघि भारतले रुसबाट मात्र २.५ प्रतिशत कच्चा तेल किन्थ्यो। युद्धपछि त्यो आकडा वृद्धि भएर ३५ प्रतिशत पुग्यो।र, अमेरिकाले यही निहुँमा उच्च भन्सार महसुल लगाएपछि भारतले माग घटाएको छ। पुटिन त्यो माग नघटोस् भन्ने चाहन्छन्।
अर्कोतिर, युक्रेन युद्धका कारण एक्लिने जोखिममा परेका पुटिनका लागि चीन, भारतजस्ता देशसँगको सम्बन्ध भूराजनीति र कूटनीतिक प्रदर्शनका हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण छ।पुटिनका लागि भन्दा मोदी र भारतका लागि यो भ्रमण ज्यादा महत्त्वपूर्ण देखिन्छ। किनभने यतिबेला भारतका ‘शत्रु’ र ‘मित्र’ दुवै मोदीमाथि दबाब सिर्जना गरिरहेका छन्।पाकिस्तानसँगको दीर्घ दुस्मनी, चीनसँगको कटुता, युरोपको दबाब र अमेरिकाको ‘धोका’को सामना उनी गरिरहेका छन्।
अमेरिकाको प्रमुख चुनौती मानिएको चीनले व्यापार युद्धमा हात माथिबाट पार्दा वासिङ्टनको सहयोगी भारतले भने उच्च कर बेहोरिरहेको छ।आफूलाई ट्रम्पको ‘साँचो मित्र’ दाबी गरेका मोदीले अपमानित महसुस गरेका छन्।पुटिनको भ्रमणको मुखैमा जर्मनी, फ्रान्स र बेलायतका राजदूतहरूले भारतीय सञ्चारमाध्यममा संयुक्त लेख लेख्दै रुसको आलोचना गरेर दबाब सिर्जना गर्ने प्रयास गरेका छन्। यस्तोमा आफ्नो घोषित ‘रणनीतिक स्वायत्तता’ नीति अघि बढाउन पनि मोदीलाई पुटिनको भर आवश्यक छ।

























Discussion about this post