इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वर्तमान समयमा मानिसहरूमा सकारात्मक सोचको खाँचो रहेको बताएका छन्। सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशले आयोजना गरेको श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
उनले मानिसमा सकारात्मक सोचको विकास हुन धर्मको बाटो अपनाउनुपर्ने उल्लेख गरे। मुख्यमन्त्री कार्कीले त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले धार्मिक पर्यटकीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
मुख्यमन्त्री कार्कीले सो क्षेत्रमा स्थापना गरिएको १०८ शिवलिंगको पनि दर्शन तथा अवलोकन गरे। यस्ता गतिविधिले इटहरी क्षेत्र धार्मिक पर्यटकहरूको गन्तव्य बन्नेमा आफू विश्वस्त रहेको बताए। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रलाई अझ सशक्त रूपमा क्रियाशील बनाउन कोशी सरकार र व्यक्तिगत तर्फबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जाहेर गरे।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पुराणवाचक युवा पण्डित योगेश भण्डारी, ज्योतिष रमेश कोइराला, ज्योतिष बीपी सास्त्री, पिठाधीश संरक्षक महेश्वरानन्द केशर पुरी महाराज लगायतका धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।



























Discussion about this post