इटहरी । सरकारले फेसबुकसहित सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेको आज अन्तिम दिन हो। सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य दर्ताका लागि भन्दै सात दिने सूचना निकालेको थियो।
सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर सामाजिक सञ्जाललाई दर्ता हुन नआए बन्द गरिदिने चेतावनी दिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दिउँसो पौने ४ बजेसम्म कुनै पनि संस्था सूचीकृत हुन नआएको जानकारी दिए।
‘अहिलेसम्म कुनै पनि संस्था सूचीकृतका लागि सम्पर्कमा आएका छैनन्,’उनले भने, ‘राति १२ बजेसम्म उनीहरूका लागि दिएको समय बाँकी छ। ती संस्थाले एउटा इमेल लेखेर जानकारी दिए भने बन्द हुँदैन नत्र सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषद्ले नै निर्णय गरिसकेको कुरा कार्यान्वयनमा जान्छ।’
सरकारले केही समयअघि टेलिग्रामलाई नेपालमा निष्क्रिय गरिसकेको छ। त्योभन्दा अघि टिकटकलाई पनि प्रतिबन्ध लगाएको थियो। टिकटक नेपालमा सूचीकृत हुन आएसँगै अहिले उक्त सञ्जाल पुन: सञ्चालनमा आएको हो। पछिल्लो समय चाहिँ सरकारले फेसबुक, ट्विटर, ह्वाट्सएप, इन्ट्राग्रामलगायतलाई नेपालमा सूचीकृत हुन भनेको हो। यसअघि पटकपटक पत्र पठाएरै आग्रह गर्दा अटेर गरेपछि यसपटक मन्त्रिपरिषद्ले नै निर्णय गरी बन्द गर्ने चेतावनीसहितको म्याद दिएको थियो।
गत बुधबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम’ सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जबाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय भएको सुनाएका थिए। उनले तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउने उल्लेख गरेका थिए।



























Discussion about this post